शालीग्राम संग्रहालयले विश्वको ध्यान तान्छ: देउवा
बागलुङ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालीगण्डकी नदीमा मात्र पाइने दुर्लभ एवम् बहुमूल्य शिला सङ्कलन गरी बनाइएको शालीग्राम संग्रहालयले विश्वको ध्यान तान्ने विश्वास व्यक्त गरेका छन्।
बागलुङ नगरपालिका–४, कुँडुलेस्थित श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर परिसरमा भूमिगत ‘स्वामी श्रीधराचार्य शालीग्राम संग्रहालय’ को आज उद्घाटन गदै उनले अलौकिक शिला जम्मा गरी निर्माण थालिएको संग्रहालयले विश्वका धार्मिक पर्यटक आकर्षण गर्ने र लोप हुने अवस्थामा रहेका शालीग्रामको संरक्षण विश्वमै उदाहरणीय कार्य भएको बताए।
उनले सवालाख शालीग्राम एकै साथ दर्शन गर्न मिल्ने संरचना अन्त कतै नभएको दाबीसमेत गरे।
६ करोड रूपैयाँ लागतमा डेढ वर्ष लगाएर संग्रहालय बनाइएको हो। शालीग्राम संरक्षणसँगै पर्यटन प्रवर्द्धनको उद्देश्यले सग्रहालय निर्माण गरिएको मन्दिरका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताए।
सग्रहालयमा सवा लाख शालीग्राम, गण्डकी सभ्यताको प्रतिरूप, धार्मिक पुस्तकालय, ध्यानस्थल र वृत्तचित्र प्रदर्शनीकक्ष बनाइएको छ। एक सय मिटर लामो सुरुङको प्रवेशद्वार नजिकै कृत्रिम भू-बनोटमा दामोदरकुण्डदेखि त्रिवेणीसम्मका धार्मिक तथा सांस्कृतिक सम्पदाको नमूना देखाइएको छ।
शालीग्राम र गण्डकी सभ्यता देखाउने नक्शाङ्कनलाई सिसाभित्र सजाइएको छ। सुरुङको दायाँपट्टि ११२ मानिस अट्ने वृत्तचित्र प्रदर्शनीकक्ष निर्माण गरिएको छ। त्यहाँ गण्डकी सभ्यताको महिमा झल्काउने र गण्डकी सभ्यतामाथि पछिल्लो समय भइरहेको अतिक्रमण देखाउने वृत्तचित्र प्रदर्शन गरिनेछ।
सग्रहालय अवलाेकन गरेकाे १०० रुपैयाँ शुल्क तोकिएको छ। विद्यार्थीले ५० रुपैयाँको टिकटमा संग्रहालय घुम्न पाउनेछन् । उद्घाटनपछि औपचारिकरूपमा सर्वसाधारणका लागि सङ्ग्रहालय खुला गरिएको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्