साग पुरुष क्रिकेट: नेपाललाई कांस्य पदक

काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै कांस्य पदक जितेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा तेस्रो स्थानको लागि आज भएको भिडन्तमा नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै कांस्य पदक जितेको हो। माल्दिभ्सले दिएको ९५ रनको सामान्य लक्ष्यलाई नेपालले १६ दशमलव १ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो।

नेपालको जितमा आरिफ शेखले सर्वाधिक ३२ रनको योगदान दिए भने कप्तान ज्ञानेन्द्र मल्लले २२ रन जोडे। त्यस्तै रोहित पौडेलले १५ रन जोड्दा पवन सर्राफ १० तथा विनोद भण्डारीले १२ रनको योगदान गरे । बलिङतर्फ माल्दिभ्सका उमर अदमले ३ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको माल्दिभ्स निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रनमा समेटिएको थियो । उसका लागि लिम साफेगले सर्वाधिक १९ रनको योगदान दिनुभयो भने मोहमद रिसवानले १७, कप्तान मोहमद माफोजले १६ तथा अमिल माउरुफले १३ रन जोडे ।

माल्दिभ्सलाई ९४ रनमा समेट्नेक्रममा नेपालका ललितनारायण राजवंशीले ३ तथा सुशन भारीले २ विकेट लिए।

नेपाल पहिलो खेलमा श्रीलङकासँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भूटानलाई १४१ रनले हराएको थियो । त्यसैगरी माल्दिभ्सलाई ८४ रनले हराएको थियो । बङ्गलादेशसँग ४४ रनले पराजित भएपछि नेपालको स्वर्ण पदक जित्ने संभावना समाप्त भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्