गण्डक नहरमा भारतले पानी नछाड्दा गहुँ खेती प्रभावित
वीरगञ्ज। भारतीय पक्षले यसपालि गण्डक नहरमा पानी नछाड्ने भएपछि पर्सा, बारा तथा रौतहट जिल्लामा गहुँ खेती प्रभावित हुने भएको छ । भारतीय पक्षले गण्डक नहरमा गहुँ खेतीका लागि डिसेम्बर तेस्रो साता (पुस १५) भित्र पानी छोडी सक्नुपर्नेमा भारत पश्चिम चम्पारणमा ड्रेन साइफनको मर्मतसम्भार गर्ने भएकाले यसवर्ष गहुँ खेतीका लागि गण्डक नहरमा पानी नछोडिने भएको नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय वीरगञ्जले जनाएको छ।

सो साइफनको मर्मतसम्भार भइरहेकाले भारत पश्चिम चम्पारण रामनगरस्थित दोन शाखाबाट यसपालि गहुँ खेतीका लागि गण्डक नहरमा पानी नछाड्ने पत्र प्राप्त भएको सूचना अधिकारी सुरेशप्रसाद साहले जानकारी दिए। उनले भने, “भारतीय पक्षले धानबालीका लागि गण्डक नहरमा पानी छोड्ने गरे पनि यसपालि गहुँका लागि नहरमा पानी नछाड्दा नदी, पोखरी, तलाउ, कुलो र पम्पसेटको सहाराले गहुँ खेती गर्नुपर्ने बाध्यता आइलागेको छ ।”

“मध्य तराईको अन्नको भण्डार मानिने पर्सा, बारा र रौतहट जिल्लाका किसानले यसवर्ष गहुँ खेती राम्रोसँग गर्न सकिएन”, किसान शेषमन पण्डितले भने, “आकाशे पानीको भरमा थोरै बीउ लगाए पनि पानीको अभावमा पूर्णरूपमा गहुँ खेती गर्न सकिएको छैन ।”

भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछोड्दा कतिपय ठाउँमा साना सिँचाइमार्फत वैकल्पिक व्यवस्था गर्नुपर्ने विरगञ्ज कृषि ज्ञान केन्द्रका प्रमुख डा. रामचन्द्र यादवले बताए।

भारतीय पक्षले नेपालतर्फको ८१ किलोमिटर लामो गण्डक नहरमा वर्षको दुईचोटि पानी छोड्ने गर्छ । गण्डक नहरको चार दशकको लामो इतिहास छ । समयमा नहरमा पानी नछोड्दा पर्सा, बारा तथा रौतहटका ७६ हजार ५०० हेक्टर क्षेत्रफलमा किसानले लगाउने गहुँ खेती यस वर्ष ढिलो हुने तथा प्रभावित हुने किसानको ठम्याइ रहेको छ ।

भारतीय भूमि हुँदै गण्डक नहरको पानी पश्चिमी पर्साको जानकीटोलबाट शुररू भई पर्सा, बारा हुँदै रौतहटको बागमती नदीमा मिसिन्छ। नेपाल र भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले नेपालतर्फ रहेको गण्डक नहरमा ८५० क्युसेक पानी छोड्नुपर्ने हो।

उर्वराभूमि, पर्याप्त जनशक्ति र सिँचाइको ठूलो स्रोत हुँदाहुँदै यस वर्ष गहुँ छर्ने याममा गण्डक नहरमा पानी नआउँदा किसान समयमा खेती गर्न सकेका छैनन् । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्