आफैंले ८८ करोड मूल्यांकन गरेको बोइङ ४८ करोडमा बेच्दै वायुसेवा निगम

काठमाडौं। नेपाल वायुसेवा निगमको बोइङ जहाजलाई ग्राउन्डेड गरेर थोत्रो बनाएपछि कवाडीको भाउमा बेच्न लागिएको छ।

निगम आफैँले तोकेको मूल्यमा पनि ४५ प्रतिशत घटाएर टेण्डर आव्हान भएको छ।

एयरबस आएपछि पनि उडिरहेको बोइङलाई मर्मत गर्न मलेसिया पठाइएको थियो। १० करोड खर्चेर ल्याएपछि उडाउनुको सट्टा ग्राउन्डेड गरेर बिक्रीमा राखियो।

३२ वर्ष पुरानो बोइङ ‘गण्डकी’ बिक्री गर्न निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारको गत वर्ष स्वीस कम्पनी फिन्टेकका प्राविधिक बोलाएर मूल्यांकन गराएका थिए।

फिन्टेकका प्राविधिकले बोइङको मूल्य ६४ लाख अमेरिकी डलर (७३ करोड रूपैयाँ) राख्न सिफारिस गरेका थिए।

उनीहरुले ५२ लाख ९६ हजार डलर (६० करोड ३७ लाख रूपैयाँ) भन्दा कममा बेच्नै नहुने सिफारिस गरेका थिए।

यो सिफारिश आएको एक वर्षसम्म बोइङलाई ग्राउन्डेड गरेर राखियो। र, बोइङ बिक्रीका लागि गत ११ असारमा निगमले ४५ दिने सूचना जारी गर्‍यो।

निगमले सूचना निकाल्दा बोइङको मूल्य ७६ लाख ७६ हजार अमेरिकी डलर (करीब ८८ करोड रूपैयाँ) निर्धारण गरेको थियो।

तर, आवेदन नपरेको भन्दै निगमले चार महीनापछि २६ कात्तिकमा सोझै ४५ प्रतिशत मूल्य घटाएर दोस्रो सूचना जारी गर्‍यो।

जसअनुसार बोइङको मूल्य ४२ लाख ५० हजार अमेरिकी डलर (४८ करोड ५० लाख रूपैयाँ) कायम भएको छ।

तर, एकैपटक ४० करोड मूल्य घटाउँदा निगमले स्वतन्त्र अध्ययन गराएको छैन, सोझै सञ्चालक समितिले निर्णय गरेको आजको नयाँ पत्रिकामा समाचार छापिएको छ।

प्रतिक्रिया दिनुहोस्