बैतडीका १७४ सामुदायिक विद्यालय दरबन्दीविहीन

बैतडी। बैतडीका १७४ सामुदायिक विद्यालय दरबन्दीविहीन छन्।

ती विद्यालय निजी स्रोतका शिक्षकका भरमा सञ्चालन भइरहेका छन्।

समुदायको पहलमा स्थापना भएका विद्यालयमा दरबन्दी नहुँदा शैक्षिक गुणस्तर कमजोर हुँदै गएको छ।

जिल्लामा कक्षा १ देखि ५ सम्मका ४३, कक्षा १ देखि ८ सम्म पढाइ हुने ८७ र ४४ माध्यमिक विद्यालय दरबन्दीविहीन रहेका शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले बताए।

शर्माका अनुसार यी विद्यालय निजी स्रोतका शिक्षकका भरमा सञ्चालन भइरहेका छन्। उनले भने, “२०५२ सालपछि स्थापना भएका धेरै विद्यालयमा दरबन्दी नभएका हुन्।”

सामुदायिक विद्यालयमा शिक्षकको दरबन्दी नहुँदा शैक्षिक गुणस्तर खस्कँदै गएको सुर्नया–५ का निराजन मडैले बताए।

राजनीतिक पहुँचका आधारमा विद्यालय सञ्चालनको अनुमति दिँइदा सामुदायिक विद्यालय सञ्चालनमा समस्या आएको हो।

शून्य दरबन्दी रहेका विद्यालयमा निजी स्रोतका शिक्षक तथा राहत दरबन्दीका शिक्षकले अध्यापन गर्दै आएका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नरेन्द्र अवस्थीले बताए।

अनुमति लिँदा समुदायले व्यवस्थापन गर्छौँ भनेर अनुमति लिएकाले विद्यालयमा दरबन्दी सिर्जना हुनसकेको छैन।

विद्यालयमा सरकारी दरबन्दीका शिक्षक नहुँदा अभिभावककै चन्दाको भरमा अधिकांश विद्यालय सञ्चालन भएका छन्।

यसले गर्दा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिए पनि त्यो कार्यान्वयन भने हुनसकेको छैन। निजी स्रोतका शिक्षकको तलबका लागि महिनाको अन्त्यमा विद्यालयलाई धौधौ पर्ने गर्दछ।

विद्यालयमा शून्य दरबन्दी हुँदा विद्यालय सञ्चालनमा निकै समस्या भएको पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाका व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले बताए।

शिक्षक पदपूर्तिका लागि जिल्ला समन्वय समितिले पनि पहल थालेको जनाएको छ।

शिक्षाका अधिकार स्थानीय सरकारमा रहेकाले स्तानीय तहले चाँसो देखाउनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख शिद्धराज भट्टले बताए। रासस

प्रतिक्रिया दिनुहोस्