उपसभामुखलाई राजीनामा गराउँदै नेकपा

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संसदको हिउँदे अधिवेशनअगावै उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने भएको छ।

४ पुसमा शुरू हुने अधिवेशनको अध्यक्षता राजपा नेता एवं ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्ने आजको अन्नपूर्ण पोष्टमा समाचार छ।

संसद नियमावलीको व्यवस्थाअनुसार प्रतिनिधिसभा बैठकको प्रारम्भ र अन्त्य सभामुखले गर्छन्। सभामुख नहुँदा ज्‍येष्‍ठ सदस्यबाट गराइन्छ।

यौन दुव्र्यवहार आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद खाली छ।

सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानीक व्यवस्था छ। उपसभामुखबाट राजीनामा नगरी नेकपाका सांसदले सभामुखमा प्रतिस्पर्धा गर्न पाउँदैनन्।

त्यही कारण तुम्बाहाङ्फेलाई उपसभामुखबाट राजीनामा गराउन लागिएको हो। सभामुख आफ्नो पार्टीले लिएपछि उपसभामुख अन्य पार्टीलाई दिने तयारी नेकपाको छ।

“ज्येष्ठ सदस्यले अध्यक्षता गर्ने गरी उपसभामुखले राजीनामा दिनुहुनेछ”, नेकपा संसदीय दल स्रोतले भन्यो, “उहाँले राजीनामा दिनैपर्ने अवस्था छ। बैठक बस्नुअघि राजीनामा आउँछ।”

उपसभामुखले सभामुखलाई सम्बोधन गरी राजीनामा दिनुपर्ने संसद् नियमावलीमा व्यवस्था छ।

“सभामुखलाई सम्बोधन गरेर उहाँ (उपसभामुख) ले राजीनामा दिनुहुन्छ,” स्रोतले भन्यो, “ज्येष्ठ सदस्यले उपसभामुखको राजीनामासम्बन्धी जानकारी प्रतिनिधिसभालाई गराएपछि सभामुखको निर्वाचन प्रक्रिया शुरू हुन्छ।”

उपसभामुख तुम्बाहाङ्फेले भने सभामुख निर्वाचन प्रक्रिया प्रारम्भ भएपछि आफूले राजीनामा दिने बताइन्।

“प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा मैले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने तयारी गरेकी छु”, उनले भनिन्, “दलहरूको सुझावअनुसार अघि बढ्नेछु।”

उपसभामुख तुम्बाहाङ्फेले उपसभामुख नै सभामुखको स्वभाविक हकदार भएको बताउँदै आएकी छन्।

पढ्नुहोस्:

‘उपसभामुख नै सभामुखको स्वभाविक हकदार हो’

प्रतिक्रिया दिनुहोस्