बालुवाटारको जग्गा किन्नेविरुद्ध पनि मुद्दा चलाउने अख्तियारको तयारी

काठमाडौं। बालुवाटारको २१४ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने योजनाकारहरू मात्र होइन, जग्गा किन्नेहरूविरुद्ध पनि मुद्दा चल्ने भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले सरकारी जग्गा किनबेच गर्ने दुवै पक्षलाई मुद्दा लगाउने निष्कर्ष निकालेको आजको नयाँ पत्रिकामा समाचार छापिएको छ।

“जग्गाधनीलाई पनि मुद्दा चल्छ”, अनुसन्धान टीममा रहेका अख्तियारका एक अधिकारी भन्छन्, “तर, कुन तह र कुन हदसम्म बारबाही हुने भन्ने निक्र्यौल हुन बाँकी छ।”

राणा परिवार र उनीहरूसँग जग्गा किन्ने दुई तहसम्मलाई मुद्दा चल्ने सम्भावना रहेको उनले बताए।

प्रधानमन्त्री निवाससँगै जोडिएको ललिता निवासको जग्गा हाल सयभन्दा धेरै व्यक्तिको नाममा छ।

अख्तियारले ती सबै जग्गाधनीसँग बयान सकेर मुद्दा चलाउने प्रक्रिया अघि बढाइसकेको छ।

मुख्य योजनाकार शोभाकान्त ढकाल र रामप्रसाद सुवेददीले नै विभिन्न व्यक्तिलाई बिक्री गरेका हुन्।

भाटभटेनी सुपरमार्केटले सोही जग्गामा गोदाम बनाएको छ।

सरकारी जग्गा कसरी व्यक्तिको नाममा गयो भनेर थप छानबीन गर्ने जिम्मेवारी सरकारले सीआइबीलाई दिएको थियो।

“केही ल्याब रिपोर्ट आउन बाँकी छ, एक-दुईजनासँग थप बुझ्नुपर्नेछ”, ब्यूरोका निर्देशक डीआइजी नीरज शाही भन्छन्, “अब छिट्टै प्रतिवेदन बुझाउँछौँ।”

नक्कली मोही खडा गरी सरकारी जग्गा कब्जा गरिएको आशंकामा सीआइबीले मोही भनिएका व्यक्तिको औँठाछाप परीक्षण गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्