सागका पदक विजेता नेपाली खेलाडीलाई भेट्दै प्रधानमन्त्री

काठमाडौं। दक्षिण एशियाली खेलकुद (साग) को तेह्रौं संस्करण शुरू हुनुअगावै प्रतियोगितामा सहभागी खेलाडीलाई भेट्न चाहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नै निवास बालुवाटरमा भेट्ने भएका छन्।

२४ मंसीरको साग समापनमा भिडिओ कन्फ्रेन्समार्फत सम्बोधन गरेका प्रधानमन्त्री ओलीले खेलाडीलाई बालुवाटारमा निम्तो दिएका थिए।

यसै अवसरमा प्रधानमन्त्री ओलीले पदक विजेता खेलाडीलाई सरकारले दिने पुरस्कार राशी घोषणा गर्नेछन्। प्रधानमन्त्रीले सवा दुई बजे खेलाडीलाई भेट्दैछन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले राष्ट्रको प्रतिष्ठा र गौरब बढाउने खेलाडीहरूको सम्मानमा प्रधानमन्त्री निवास बालुवाटारमा पदक विजेता खेलाडीहरूको उपस्थितिमा विशेष सम्बोधन गर्ने बताए।

“प्रधानमन्त्री आफैँले खेलाडीहरूको पुरस्कार प्याकेज घोषणा गर्नुहुँदैछ, के कति छ उहाँले नै भन्नु हुनेछ”, थापाले देखापढीसँग भने।

‘उहाँले खेलाडीलाई सम्बोधन गर्नुहुन्छ। पुरस्कार राशी घोषणा गर्नुहुन्छ,’ राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले भने, ‘पुरस्कार राशी कति हुने भन्ने कुरा उहाँले नै भन्नुहुन्छ। मसँग सल्लाह त भएको छ तर मैले भन्न मिल्दैन।’

१५ मंसीरबाट शुरू प्रतियोगितामा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ काश्य पदक जितेको थियो।

पदक तालिकामा नेपाल भारतपछि दोस्रो स्थानमा रहेको छ। नेपालले सागमा यति धेरै स्वर्ण पदक जितेको यो पहिलो हो।

राष्ट्रिय खेलकुद परिषद्ले सागमा स्वर्ण पदक जित्नेलाई पाँच लाख, रजत पदक विजेतालाई तीन लाख र काश्य पदक जित्ने खेलाडीहरूलाई दुई लाख रूपैयाँ दिने घोषणा गरिसकेको छ।

त्यस्तै समूहगत प्रतिस्पर्धातर्फ भने प्रत्येक खेलाडीले स्वर्णतर्फ दुई लाख, रजततर्फ एक लाख ५० हजार र कांस्यतर्फ एक लाख रूपैयाँ नगद पुरस्कार दिइनेछ।

यसअघि १० मंसीरमा पदक जित्ने नेपाली खेलाडीलाई प्रधानमन्त्री ओलीले बिशेष प्याकेजसहित पुरस्कार घोषणा गर्ने कार्यक्रम तय भएको थियो।

तर, उनी सोही दिन अस्वस्थ भएका कारण सो प्याकेज घोषणा हुन पाएन।

प्रतिक्रिया दिनुहोस्