अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव काठमाडौंमा शुरू

काठमाडौं। काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) को १७ औं संस्करण आजबाट काठमाडौंमा शुरू भएको छ।

राष्ट्रिय सभा गृहमा चलिरहेको फिल्म फेस्टिभलमा फेस्टिभलमा २९ देशका ७९ वटा फिल्महरू देखाइनेछन्।

विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि डकुमेण्ट्री, कथानक फिल्म, लघु फिल्म र प्रयोगात्मक फिल्महरू प्रदर्शनमा आउनेछन्।

काठमाडौं महानगरपालिकाको सहआयोजनामा हुन लागेको किम्फ-२०१९ मा विविध आवाज र गाथालाई समेटिएको छ।

महोत्सवको ‘ट्यागलाइन’ भ्वाइसेस फ्रम मार्जिन्स् (सीमान्त आवाज) राखिएको छ।

यो पटकको महोत्सवमा देखाइने फिल्महरूले दर्शकहरूलाई रिझाउन सदा झैं सफल हुने हिमाल एशोसिएसनका कार्यकारी निर्देशक वसन्त थापाले बताए।

फिल्म हेरिसकेपछि नेपाली समाजलाई तरंगित पार्ने खालका मुद्दाहरूबारे बहस गर्न सहयोग पुग्ने थापाको विश्वास छ।

महोत्सवमा ६९ देशका ४२९ फिल्ममध्येबाट २९ देशका ७९ फिल्म प्रदर्शन गरिने आयोजकले जनाएको छ। त्यसमध्ये नेपाली पानारोमाअन्तर्गत १४ फिल्म प्रदर्शन गरिनेछ।

उक्त १४ फिल्ममा सरला थापाको ‘ब्रिटेन्स् लोन्ली गोर्खाज्’, गणेश पाण्डेको ‘सह श्रीमान’, निपिल शर्माको ‘अटिसार्गा’, धोंडप छिरिङको ‘आमा खुन्डो’, सुमन सापकोटाको ‘अठारौं’, धनराज बर्कोटेको ‘एउटा रूखको पीडा’, केदार श्रेष्ठको ‘जुनुको जुत्ता’, प्रशिस बज्राचार्यको ‘कोक्रो’, ‘पहिचान’, ‘फुर्वा’, ‘साइलेन्स प्लिज’, ‘रङ्गहीन पुतली’, ‘द कलरलेस’ र ‘तीर्खा’ रहेका छन्।

किम्फ २०१९ मा सर एडमण्ड हिलारीको शतवार्षिकी पनि मनाइनेछ। जसको शुरूआत ‘दी एसेन्ट अफ एभरेष्ट’ भन्ने फिल्मको विशेष प्रदर्शनबाट हुनेछ।

यस फिल्ममा हिलारी र तेन्जिङ नोर्गेले २९ मे १९५३ मा सफलतापूर्वक सर्वोच्च शिखरमा पुगेर विजय हासिल गरेको ऐतिहासिक क्षण समेटिएको छ।

फिल्मको अर्को रोचक पक्ष भनेको सर एडमण्ड हिलारीको ‘न्यारेसन’ हो, जसअन्तर्गत आरोहणका क्रममा भोग्नु परेको अवस्मरणीय अवस्थालाई उनले फेरि सम्झिएका छन्।

प्रदर्शन गरिने फिल्महरूमध्ये १७ फिल्म प्रतिस्पर्धात्मक र ३२ फिल्म गैर-प्रतिस्पर्धात्मक खण्डमा समावेश गरिएको छ।

महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः दुई लाख, एक लाख ५० हजार र एक लाख रुपैयाँ प्राप्त गर्नेछन्।