चितवनमा उम्मेदवारले खर्च विवरण बुझाएनन्
चितवन। स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि जिल्लाका स्थानीय तहका उम्मेदवारले खर्चको विवरण बुझाएका छैनन्।

जिल्लाका सात स्थानीय तहका ९१७ जनाले निर्वाचन कार्यालयमा खर्चको विवरण नबुझाएका हुन्।

जिल्ला निर्वाचन अधिकारी हरि ढकालका अनुसार जिल्लाका सात स्थानीय तहमा दुई हजार २०३ उम्मेदवार थिए। तीमध्ये एक हजार २८६ जनाले मात्र खर्चको विवरण बुझाएको उनले जानकारी दिए।

यस्तै प्रतिनिधिसभा र प्रदेशसभाका १२/१२ जनाले पनि खर्च विवरण नबुझाएको कार्यालयले जनाएको छ। साना राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले खर्चको विवरण नबुझाएका हुन्।

उनीहरूलाई कार्यालयले ताकेता गरिरहेको भए पनि विवरण बुझाइनसकेको ढकालले बताए। निर्वाचन सम्पन्न भएको ३० दिनभित्र उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने हुन्छ।

सातजनाको धरौटी जफत

उप-निर्वाचनमा जिल्लाका तीन वडाध्यक्षका लागि उम्मेदवार बनेका सात उम्मेदवारको धरौटी जफत भएको छ। भरतपुर महानगरपालिका-१६, खैरहनी नगरपालिका-४ र ५ मा १३ जना उम्मेदवार थिए।

तीमध्ये सातजनाले सदर मतको १० प्रतिशत मत ल्याउन नसकेपछि धरौटी जफत भएको हो। तीनवटै वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्