बहुविवाह मुद्दा खेपिरहेका छविराजलाई साधारण तारेख

काठमाडौं। बहुविवाह मुद्दा खेपिरहेका चलचित्र निर्माता छविराज ओझाले अदालतबाट साधारण तारेख पाएका छन्।

जिल्ला अदालत काठमाडाैंबाट उनले साधारण तारेख पाएका हुन्।

न्यायाधीश मुकेश उपाध्यायको एकल इजालसले निर्माता ओझालाई तारेखमा हाजिर हुन आउने आदेश दिएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए।

जेठी श्रीमती हेमा ओझाले प्रहरीमा बहुविवाहको उजुरी दर्ता गरेपछि फरार रहेका निर्माता ओझा २३ मंसीरमा जिल्ला अदालत काठमाडौं हाजिर भएका थिए। त्यही दिन अदालतले ओझालाई साधारण तारेख दिएकाे हाे।

आफूसँग डिभोर्स नै नगरी श्रीमान ओझाले शिल्पा पोखरेलसँग विवाह गरेको भन्दै हेमाले दुवैविरुद्ध गत ६ साउनमा प्रहरीमा बहुविवाहको उजुरी दिएकी थिइन्।

उनको उजुरीको आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएको थियो। अदालतले पक्राउ गर्न अनुमति दिएसँगै छवि र शिल्पा फरार थिए।

गत कात्तिक अन्तिममा जिल्ला अदालत काठमाडौंमा हाजिर भएकी शिल्पालाई समेत अदालतले साधारण तारेखमा छाडेको थियो।

अदालतले २०५१ सालमै हेमासँग सम्बन्धविच्छेद भइसकेको भन्दै शिल्पासँग विवाह गर्न कुनै वाधा नपर्ने ठहर गरेको छ। त्यही बेला अंशवण्डा भएर छुट्टा छुट्टै बसेकाले छविलाई अर्को विवाह गर्न कुनै वाधा नपर्ने ठहर गर्दै शिल्पासँगको विवाह वैधानिक भनेको हो।

श्रीमान ओझाविरुद्ध शिल्पाले प्रहरीमा घरेलु हिंसाको उजुरी दिएपछि उनीहरूबीच झगडा परेको थियो। त्यही झगडाले उग्र रुप लिँदै डिभोर्ससम्म आइपुगेको थियो।

प्रहरीले दुवैलाई कहिल्यै झगडा नगर्ने कागजी सम्झौता गरेर घर फर्काए पनि शिल्पाले श्रीमान ओझाको आधा अंश माग गर्दै जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दिएकी थिइन्। दुई जनाको विवादले उग्ररुप लिँदै गर्दा छविकी जेठी श्रीमतीले बहुविवाहको मुद्दा दायर गरेकी थिइन्।

शिल्पाले हालेको डिभोर्स मुद्दामा अझै कुनै सुनुवाइ भएको छैन। त्यही समयमा जेठी श्रीमती हेमाले हालेको उजुरीमा प्रारम्भिक सुनुवाइ गर्दै उनीहरू दुवैजनालाई साधारण तारेख दिएकाे हाे।

छविले शिल्पालाई चौथो श्रीमतीको रूपमा घर भित्र्याएका थिए। उनकी पहिलो श्रीमती हेमा हुन्। हेमा र छविबाट दुईवटा छोरा छन्।

त्यस्तै निर्माता ओझाकी दोस्रो श्रीमती गीताञ्जली सुनुवारको मृत्य भइसकेको छ।

उनको तेस्रो श्रीमती अभिनेत्री रेखा थापा हुन्। १२ वर्षपछि उनीहरूको डिभोर्स भयो। ६५ लाख लिएर रेखाले ओझासँग डिभोर्स गरेकी थिइन्।

रेखासँग डिभोर्स भएको १० दिनपछि (२९ असार २०७३) ओझाले गुपचुपरूपमा शिल्पासँग विवाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्