सुत्केरी अस्पतालमै 'बन्धक'

राजविराज। उपचारबापतको तीन लाख ५० हजार रूपैयाँ बुझाउन नसक्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाकी ललितादेवी खंगले विराटनगरस्थित विराटनगर अस्पतालबाट डिस्चार्ज हुन पाएकी छैनन्।

एकमहीने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा माग्न थालेका छन्।

विराटनगरस्थित जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा दुई छोरी जन्माएपछि ललितालाई विराटनगर अस्पताल पुर्‍याइएको थियो।

नवजात जुम्ल्याहामध्ये एकको मृत्यु भइसकेको छ भने अर्की शिशु तोपास्थित घरमा छिन्।

ललिता खत्वे समुदायकी हुन्। उनका पति गोपी मजदूरी गरेर जीविकोपार्जन गर्छन्।

ललिताका पति गोपीले ट्रमा सेन्टरमा सुत्केरी गराउनदेखि छोरीको उपचार खर्चसमेत गरी एक लाख ७४ हजार रूपैयाँ ब्झाएको बताए। ३२ हजार ७५० औषधीबापत खर्च भएको थियो।

विराटनगर अस्पतालमा रहेकी ललिता निको भइसकेकी छन्। तर, डिस्चार्ज हुन अस्पतालमा उपचारमा लागेको तीन लाख ५० हजार रूपैयाँ बुझाउनुपर्ने आजको कान्तिपुरमा समाचार छ।

“बील तिर्न नसक्दा अस्पताल प्रशासनले आउन दिएको छैन”, गोपीले भने, “ऋण गरेर ट्रमा सेन्टरमा दुई लाखभन्दा बढी बुझाइसकेँ, अब साढे तीन लाख कसरी जुटाऊँ।”

प्रतिक्रिया दिनुहोस्