उपसभामुख तुम्बाहाङफे भन्छिन्- 'राजीनामाको हल्लाले छक्क परेकी छु'

काठमाडौं। उपसभामुख शिवमाया तुम्बाहाङफेले सभामुख चयनका लागि उपसभामुखलाई राजीनामा गराउने भन्ने हल्लाले आफू छक्क परेको बताएकी छन्।

“मलाई अहिलेसम्म कसैले केही भनेको छैन, मिडियामा आएका समाचारले छक्क पर्छु” तुम्बाहाङफेले देखापढीसँग भनिन् “सभामुख चयन अहिलेको प्रमुख विषय हो तर यस विषयमा जति छलफल हुनुपर्ने हो त्यो भाकै छैन।”

संसद सचिवालयमा कार्यरत महिलालाई बलात्कारको प्रयास गरेको आरोप लागेपछि प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले १४ असोजमा सभामुख पदबाट राजीनामा दिएपछि स‌ंसद सभामुखविहीन छ।

संविधानले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा फरक-फरक दलको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरेको छ।

संसदको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टीबाटै तुम्बाहाङ्फे उपसभामुख छिन्। उनी उपसभामुख पदमा रहिरहेसम्म नेकपाले सभामुख पाउँदैन।

त्यसैले सभामुख पद आफैंसँग राख्न नेकपासँग शिवमायालाई नै सभामुखको उम्मेद्वार बनाउने वा उनलाई उपसभामुखबाट राजीनामा गराउने दुई विकल्प छन्।

उपसभामुख तुम्बाहाङ्फेले भने उपसभामुख नै सभामुखको स्वाभाविक दाबेदार भएको बताउँदै आफ्नो दावेदारी प्रस्तुत गर्दै आएकी छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल पनि उपसभामुखलाई राजीनामा गराउने विषयमा पार्टीमा छलफल नभएको बताउँछन्।

“सभामुखको विषयमा पार्टीको कुनै औपचारिक बैठकमा छलफल भएको छैन, मलाई चाहिँ थाहा छैन”,नेता नेपालले भने।

संघीय संसदको पाँचौं अधिवेशन आउँदो ४ पुसदेखि शुरू हुँदैछ।

२३ मंसीरमा बसेको मन्त्रिपरिषद्को बैठकले संसदको पाँचौं अधिवेशन ४ पुसमा आह्वान गर्न सिफारिस गरेअनुसार राष्ट्रपति विद्यादेवि भण्डारीले संसदको अधिवेशन आह्वान गरिसकेकी छन्।

संसद नियमावलीको व्यवस्थाअनुसार प्रतिनिधिसभा बैठकको प्रारम्भ र अन्त्य सभामुखले गर्छन्।

नेपालको संविधान बमोजिम प्रतिनिधिसभा बैठकको अध्यक्षता उपभामुखले गर्न सक्छन्।

संविधानको धारा ९१ को (४) मा सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधिसभाको अध्यक्षता गर्ने व्यवस्था गरिएको छ।

सभामुख उपसभामुखबारेको संविधानको प्रावधानलाई प्रतिनिधिसभा नियमावलीले संकुचित पारेको उपसभामुख तुम्बाहाङ्फेको भनाइ छ।

“राष्ट्रिय सभा नियमावलीमा भएको बैठकको अध्यक्षतासम्बन्धी यस्तै प्रावधानलाई संशोधन गरिएको नजिर हामी माझ छँदैछ”, उनले स्पष्ट पारिन्।

३० फागुन २०७५ मा राष्ट्रिय सभा नियमावली २०७५ मा गरिएको पहिलो संशोधन गरेर यस्तो अन्योल हटाइएको छ।

राष्ट्रिय सभा नियमावलीको दफा ६ को उपदफा ४ मा उल्लेख भएको ‘अध्यक्षले प्रत्येक बैठकको प्रारम्भ तथा स्थगनको घोषणा गर्ने’ लाई संशोधन गरेर ‘तर, अध्यक्षले उपाध्यक्षलाई लिखित निर्देशन दिएमा वा अध्यक्ष काबूबाहिरको परिस्थितिमा परी बैठकमा उपस्थित हुन नसकेमा उपाध्यक्षले बैठकको प्रारम्भ र स्थगन वा अध्यक्षले प्रारम्भ गरेको बैठक स्थगनको घोषणा गर्ने’ व्यवस्था थप गरिएको छ।

४ पुसको हिउँदे अधिवेशनको तयारीबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने तयारीमा आफू रहेको उनले जानकारी गराइन्। “के कसरी अगाडि बढ्ने भन्ने त छलफल गर्नुपर्‍यो नि”, तुम्बाहाङफेको भनाइ छ।

“छलफल अगाडि बढाउँदैमा उपसभामुखले राजीनामा दिनुपर्छ भन्ने हैन। जब सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्छ, सत्तापक्षले सभामुख पद लिएमा मैले बाटो फुकाउनु पर्छ”, तुम्बाहाङफेले भनिन्, “संविधानले भने बमोजिम र मेरो दायित्व मैले बुझे बमोजिम मैले आफ्नो ठाउँबाट मार्गप्रशस्त गरिदिनु मेरो जिम्मेवारी हो तर त्यसपछाडि के हुन्छ भन्ने विषय सम्बन्धित दलसँग चाहिँ छलफल गर्नैपर्छ।”

पढ्नुहोस्:

‘उपसभामुख नै सभामुखको स्वभाविक हकदार हो’

उपसभामुखले बैठक शुरू र अन्त्य गर्न मिल्ने कि नमिल्ने ?

प्रतिक्रिया दिनुहोस्