रुपन्देहीमा बलात्कार प्रयास प्रकरणः थप दुईजनाविरुद्ध पक्राउ पुर्जी
काठमाडौं। मंसीर पहिलो साता लुम्बिनीमा एक बालिकामाथि भएको बलात्कार प्रयास घटनामा थप दुईजना पत्रकारलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ।

रुपन्देही जिल्ला अदालतबाट अनुमति पाएपछि प्रहरीले गुल्मीकी रिया बस्नेत र प्रकाश न्यौपानेलाई पक्राउ गर्ने तयारी गरेको हो।

बलात्कार प्रयास गरेको जाहेरीपछि यसअघि नै पत्रकार शिव सुवेदी पक्राउ परिसकेका छन्। उनलाई प्रहरीले अदालतबाट दुईपटक म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।

उक्त प्रकरणमा अन्य दुईजना पत्रकारको समेत संलग्नता रहेको खुल्न आएपछि अनुसन्धानका लागि प्रहरीले पक्राउ अनुमति लिएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी खडकबहादुर खत्रीले उनीहरूको खोजी भइरहेको बताए।

बुटबलको एक स्थानीय एफएममा कार्यरत १६ वर्षीया बालिकामाथि अर्घाखाँची घर भई गुल्मी बस्दै आएका शिव सुवेदीले बलात्कारको प्रयास गरेको आरोप छ।

लुम्बिनीमा सञ्चालित ‘लुम्बिनी न्यूज फेस्टिभल’मा सहभागी हुन ती बालिका रियासँग पुगेकी थिइन्। सोही फेस्टिभलमा सहभागी हुन पुगेका सुवेदीले १ मंसीरमा एक होटलमा जबरजस्तीको प्रयास गरेको जाहेरीमा उल्लेख छ।

कक्षा ११ मा अध्ययनरत ती बालिका बुटवलमा आफन्तको घरमा बस्दै आएकी थिइन्। कार्यक्रममा सहभागी भएर सो दिन उनीहरू एक होटलमा बास बस्न पुगेका थिए। त्यहीँ रियासँगै शिव सुवेदी र उनका साथी प्रकाशसमेत पुगेका थिए।

अनुसन्धान सकेर सरकारी वकीलको कार्यालयमा प्रतिवेदन बुझाउने प्रहरीले तयारी गरिरहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्