भारतबाट १० बालककाे उद्धार
सर्लाही। भारतको विहार राज्यको सीतामढीको बालगृहमा एक महिनादेखि बस्दै आएका नेपालका १० बालश्रमिकलाई उद्धार गरी आज नेपाल ल्याइएको छ। सामाजिक अभियन्ता सरोज रायले अपहरित तथा श्रमिक बालबालिकालाई उद्धार गरी जिल्ला प्रशासन कार्यालय सर्लाहीको रोहबरमा परिवारलाई जिम्मा लगाएका हुन्।
उद्धार गरिएकामा आठजना बालक सर्लाहीका र दुईजना वीरगञ्जका छन्। उद्धार गरिएका मध्ये सातजना बालकलाई श्रमिकको रूपमा लैजाँदै गरेको अवस्थामा भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो भने तीनजनालाई नेपालबाट अपहरणकारीले अपहरण गरी भिख मगाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको सामाजिक अभियन्ता रायले बताए।
ठेकेदारलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ। एक महिनाभन्दा बढी समयदेखि बालकहरू सीतामढीको बालगृहमा बस्दै आएका थिए।
त्यस्तै वीरगञ्जबाट पप्पु पाण्डे नाम गरेका व्यक्तिले आफूहरूलाई अपहरण गरेर लगेको वीरगञ्जका बालकहरूले बताएका छन्। रक्सौल घुमाई दिन्छु भनेर फकाएर आफूहरूलाई पाण्डेले भारतमा लगेको उनीहरूले बताएका छन्। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्