कांग्रेसमा चर्कियो विवाद, पौडेल र सिटौला समूहद्वारा बैठक बहिष्कार

काठमाडौं। उपनिर्वाचनका बेला एकढिक्का देखिएको कांग्रेसभित्र एकाएक विवाद चर्किएको छ।

संस्थापनइतर समूहले २६ मंसीरको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेको छ।

यससँगै कांग्रेसभित्रको गुटगत किचलो सतहमा आएको आजको अन्नपूर्ण पोष्टमा समाचार छ।

१४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला समूहले बैठक बहिष्कार गरे।

“केन्द्रीय विभाग गठन र संख्या बढाउने प्राथमिक विषय होइन। अब महाधिवेशनमै जोड दिनुपर्छ”, बैठक बहिष्कार गरेपछि नेता पौडेलले भने, “हामीले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्छ भन्यौँ, उहाँहरू सहमत हुनु भएन। बहुमतमा पेलेरै निर्णय गर्ने हो भने किन बैठकमा बसिरहनुपर्‍यो ?”

प्रमुख प्रतिपक्षको भूमिका कमजोर रहेको आरोप कांग्रेसमाथि छ। कांग्रेसको किचलोले गुटबन्दी थप प्रभावशाली हुने निश्चित छ।

दुई घण्टा ढीलो गरी बसेको केन्द्रीय कार्यििमति बैठकमा विभाग संख्या बढाउने, भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान संशोधनसहित नौवटा प्रस्ताव पेस भएका थिए।

प्रस्तावमा महाधिवेशनको विषय नसमेटिएको भन्दै पौडेल पक्ष असन्तुष्ट बनेको हो।

प्रतिक्रिया दिनुहोस्