कुमारीलाई मासिक १५ हजार भत्ता दिइने

काठमाडाैं। काठमाडौं महानगरपालिकाले यस वर्षदेखि 'जीवित देवी' कुमारीलाई मासिक १५ हजार रूपैयाँको दरले भत्ता दिने भएको छ। २५औं महानगर दिवसका उपलक्ष्यमा सहयोगापेक्षी सडकमानवमुक्त अभियानको घोषणा पनि गरिनेछ।

उक्त अभियान मानवसेवा आश्रमको सहकार्यमा महानगरपालिकाले सञ्चालन गर्न लागेको हो। २८-२९ मंसीरमा महानगर दिवस मनाइँदै छ। २९ मंसीर २०५२ मा तत्कालीन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो।

महानगरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख विद्यासुन्दर शाक्यले स्थानीयवासीका सुझावका आधारमा हरेक वर्षका कार्यक्रमलाई जनअपेक्षाबमोजिम सुधार गर्दै लगिने बताए। प्रमुख शाक्यकाे अध्यक्षतामा महानगर दिवस मूल समारोह समिति गठन गरिएको छ।

महानगर दिवसका उपलक्ष्यमा ज्यापु समुदायका परम्परागत ६३ गुथि, खड्गी समुदायका ६० गुथि, गुँलाबाजाका २३ समूहका बाजा गुरुलाई नगदसहित सम्मान गरिने छ। महानगरले १० जना पत्रकारलाई वितरण गर्दै आएको महानगर सुशासन पत्रकारिता पुरस्कार यस वर्ष पनि निरन्तरता दिनेछ ।

गत वर्ष जस्तै यस पटक पनि व्यक्तिगत र संस्थागतरूपमा नियमित कर तिर्ने उत्कृष्ट करदातालाई सम्मान गर्ने कार्यक्रम छ। विद्यालयको आधारभूत तह (कक्षा १ देखि ८ सम्म) स्तरीय ‘मेरो काठमाडौं, म बनाउँछु’ विषयमा निबन्ध प्रतियोगिता र माध्यमिक तह (कक्षा ९ र १०) स्तरीय ‘सांस्कृतिक शहर, काठमाडौं नगर’ विषयमा कविता प्रतियोगिता आयोजना भइसकेको छ।

दिवसका अवसरमा २८ मंसीर बिहान माइतीघरमण्डलादेखि तीनकुनेसम्म साइकल यात्रा आयोजना गरिनेछ। रासस

प्रतिक्रिया दिनुहोस्