सुरक्षा र न्याय पाउनबाट कोही पनि वञ्चित हुनुहुँदैनः गृहमन्त्री

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले सुरक्षा र न्याय पाउनबाट कोही नागरिक पनि वञ्चित हुन नहुने बताएका छन्।

प्रहरी तालिम केन्द्र महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम ब्याच नम्बर १७९ को दीक्षान्त समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन्।

“सुरक्षा र न्यायको आशा गरेर धेरै मानिसले प्रहरी नै खोज्छन्,” उनले भने, “कोही वञ्चित हुने हिसाबले काम गर्नु हुँदैन।”

गृहमन्त्री थापाले स्रोतसाधन अभावमा पनि नेपाल प्रहरीले उत्कृष्ट काम गर्दै आइरहेको भन्दै भौतिक पूर्वाधार, स्रोतसाधन र प्रविधिमैत्री बनाएर लगिने बताए।

१८ महीने तालिम सकेर कार्यस्थल प्रस्थान गर्ने प्रहरी निरीक्षकहरूलाई शान्ति सुरक्षा प्रदान गर्ने र राज्यले सुम्पेको जिम्मेवारी निर्वाह गर्न कुशलतापूर्वक लाग्न निर्देशन दिए।

सोही कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीको नीलो बर्दीमा कोही कसैले कुनै प्रकारको दाग लगाउने प्रयास गरे सह्य नहुने बताए।

“कानूनको परिधिभित्र रहेर सबैले आफ्नो काम कुशलतापूर्वक निर्वाह गर्नुपर्छ,” उनले भने, “कुनै पनि आवरणमा हुने अपराध क्षम्य हुँदैन।”

१८ महीने लामो तालिम सकेर ९१ जना ‘पास आउट’ भएका छन्। तालिममा प्रहरी निरीक्षक किरण राउत प्रथम भए। अनिल थापा द्वितीय र सुवास खतिवडा तेस्रो भए।

राउत शारीरिक व्यायाम तथा आत्मबल अभिवृद्धि र प्रहरी युक्ति तथा कारबाहीमा समेत प्रथम भए। थापा अध्ययन र कवाजमा प्रथम भए। त्यस्तै चाँदमारीमा देवराज भट्टराई प्रथम भए।

प्रतिक्रिया दिनुहोस्