रौतहट बमकाण्डका फरार प्रतिवादीलाई हाजिर हुन अदालतको पत्र

रौतहट। राजपुर बमकाण्डका फरार प्रतिवादीलाई हाजिर हुन जिल्ला अदालतले पत्र पठाएको छ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन राजपुर फरदहवामा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोप लागेका १० जना प्रतिवादीलाई अदालतले ३५ दिनभित्र हाजिर हुन पत्र पठाएको हो।

पूर्वमन्त्री शेख इद्रिसको राजपुर फरहदवास्थित गोठमा २७ चैत २०६४ साँझ भएको बम विस्फोटमा घाइते भएका सरुअठाका त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई चिम्नीभट्टामा हालेर जलााएर मारेको भन्दै ११ जनाविरुद्ध कर्तव्य ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणको अभियोगमा मुद्दा चलाइएको थियो।

यस प्रकरणमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलम पूर्वक्षका लागि नख्खु जेलमा छन्। आलमबाहेक अरु पक्राउ परेका छैनन्।

राजनीतिक शक्तिको आडमा १० वर्षसम्म गुपचुप पारिएको घटनाको अनुसन्धान जिल्ला प्रहरी प्रमुख भएर एसपी भूपेन्द्र खत्री आएलगत्तै शुरू भएको थियो।

प्रहरीले आलमलाई २६ असोजमा पक्राउ गरेको थियो। चिम्नीमा जिउँदै हालेर हत्या गरिएको अभियोगमा प्रहरीले सांसद आलम तथा उनका भाइ महताब आलमसँगै मोबिन आलख, शेख भदई, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ति साहलाई प्रतिवादी बनाएको थियो।

आलम पक्राउ परेपछि सबै फरार भएको जिल्ला प्रहरीका डीएसपी नवीन कार्कीले बताए।

“अदालतले ३५ दिनभित्र हाजिर हुन भनिसकेको छ। आफ्नो संलग्नता छ/छैन प्रमाणसहित हाजिर हुन अदालतले पत्राचार गरेको हो”, उनले भने, “घटनाका प्रतिवादी हामी पनि खोजीरहेका छौं।”

फरार सबै भारतमा लुकेको प्रहरीको अनुमान छ। आजको कान्तिपुर दैनिकको समाचार अनुसार अदालतले प्रतिवादी सबैको घरमा पत्र पठाएको छ।

प्रतिक्रिया दिनुहोस्