धनुषा बम विस्फोटमा घाइते इन्सपेक्टरको पनि मृत्यु

काठमाडौं। धनुषा बम विस्फोटमा परी घाइते भएका प्रहरी इन्सपेक्टर अमिरकुमार दाहालको पनि मृत्यु भएको छ।

सो घटनामा मृत्यु हुनेको संख्या योसँगै तीनजना पुगेको छ।

कोखामा बमको छर्रा लागेर गम्भीर घाइते भएका इन्सपेक्टर दाहालको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए।

धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिकैको कुचाइ टोलमा रहेको राजेश साहको घरको कम्पाउण्डमा राखिएको बम गएराति १२:१५ बजे विस्फोट भएको थियो।

विस्फोटमा परेर ४५ वर्षीय साह र उनका छोरा आनन्द साहको मृत्यु भएको छ।

विस्फोटको क्रममा बमको छर्रा लागेर इन्सपेक्टर दाहालसहित प्रहरी जवान रिजनाथकुमार महतो, मृतक राजेश साहका छोरा प्रकाश साह र छोरी मंजली साह घाइते भएका थिए।

प्रहरी जवान महतो र मृतक राजेशका छोराछोरीसमेत गरी तीन जनाको धरानमा उपचार भइरहेको छ।

राती १२ बजे साहको घर परिसरमा बम राखिएको खबर आएपछि महेन्द्रनगर इलाका प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थल पुगेको थियो।

भीड हटाउने क्रममा एक्कासी बम विस्फोट भएको सीडीओ कणेलले जानकारी दिए।

पढ्नुहोस्:

धनुषामा बम विस्फोट, बाबुछोराको मृत्यु, इन्सपेक्टरसहित चारजना गम्भीर घाइते

प्रतिक्रिया दिनुहोस्