शहीद स्मारक ‘ए’ डिभिजन लिग: ‘स्टारडम भर्सेस योङ ब्लड’

काठमाडौं। ‘मर्निङ सो दी डे’ अर्थात बिहानीले दिनको संकेत गर्छ भनेजस्तै खेलकुदमा पनि सबै प्रतियोगिताको पहिलो खेल निकै महत्वपूर्ण हुन्छ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग आजबाट शुरू हुँदैछ।

पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछन्, मछिन्द्र र ब्रिगेड ब्वाइज क्लब।

गत सिजनको प्रदर्शन हेर्दा यी दुबै टोली कमजोर हुन्।

एन्फाले लिगको मूल मर्म रेलिगेशनको प्रवधान नहटाइदिएको भए, मछिन्द्र अहिले ‘ए’ डिभिजन लिग खेल्ने क्लबको सूचीमा हुने थिएन। ‘बी’ डिभिजनमा खस्किसकेको हुन्थ्यो।

मछिन्द्र गत सिजन लिगको पुछारबाट दोस्रो स्थानमा रहेको टोली हो।

रेलिगेशनको प्रावधान थिएन, त्यसैले गत सिजन क्लबले पनि खेलाडीका लागि ठूलो रकम खर्च गरेन।

यसपटक भने एन्फाले पुछारको एक टोली रेलिगेशन हुने प्रावधान राखेको छ।

मछिन्द्रले पनि खेलाडीमा ठूलो लगानी गरेको छ।

गत सिजन लिग जित्दाको टोली मनाङ मस्र्याङदीका कप्तान विराज महर्जन, सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठ, हेमन गुरुङ र अभिषेक रिजाल गरी छ जना खेलाडी मछिन्द्रले भित्र्याएको छ।

आठ खेलाडी त अहिलेको राष्ट्रिय टोलीमा समावेस छन्।

क्लबले अनुबन्ध गरेको तीन विदेशी खेलाडीले विगतमा राम्रो प्रभाव छाडेका थिए।

त्यसैले कागजमा हेर्ने हो भने मछिन्द्र नयाँ सिजन सबभन्दा बलियो क्लब हो।

तर, मछिन्द्रका प्रशिक्षक प्रवेश कट्वाल लिगको पहिलो खेलमा भने सचेत छन्।

“पहिलो खेल भएकाले विपक्षी टोली कस्तो छ भनेर पूर्ण जानकार हुदैनौँ। नेपालमा क्लबहरुबीच धेरै भिन्नता पनि छैन। जसले जसलाई पनि हराउनसक्ने क्षमता राख्छन्। त्यसैले हामीले विपक्षीलाई कमजोर ठानेका छैनौं,” प्रशिक्षक कट्वालले भने, “हामीसँग स्टार खेलाडीहरु छन्। नाम मात्र ठूलो होइन, कस्तो रणनीतिमा खेल्ने भन्ने हो। लामो समयसँगै अभ्यास गर्न पाएका छैनौं तर पनि हामी आज ३ अंकका लागि खेल्छौंँ।”

खेलाडीहरू राष्ट्रिय र यु–२३ टोलीको खेलमा ब्यस्त भएका कारण टीम सेट भइनसकेको प्रशिक्षक कट्वालले बताए।

कप्तान विराज महर्जनको भनाई पनि प्रशिक्षकको भन्दा फरक छैन। कप्तान महर्जन कागजमा टिम बलियो भए पनि अब नतिजाले त्यसलाई प्रमाणित गर्नुपर्ने बताउँछन्।

“सबैको नजर हामीमाथि छ। हामीलाई अहिले अवसर र चुनौती दुबै छन्,” मछिन्द्रका कप्तान महर्जनले भने, “शुरूमा राम्रो नतिजा आयो भने त्यसले पछिका खेलमा उत्साह प्रदान गर्छ। सबै खेलाडी उत्साहित छौं। मेहनत गरेका छौँ, त्यसैले आजको नतिजा पनि सकारात्मक आउनेमा विश्वस्त छु।”

ब्रिगेड ब्वाइज क्बलले पनि गत सिजन राम्रो प्रदर्शन सकेको थिएन। मछिन्द्रभन्दा तीन अंक बढी जोडेको ब्रिगेड ब्वाइज पुछारबाट तेस्रो स्थानमा थियो।

युवा खेलाडीको बर्चस्व गरेको मछिन्द्रले यसपटक अनुभवी अनिल गुरुङ, विजय गुरुङ र उत्तम गरुङलाई भित्र्याएको छ।

गत सिजन युवा खेलाडीमात्र हुँदा टीममा परिपक्वता नदेखिएको भन्दै क्लबले अनुभवी खेलाडी अनुबन्ध गरेको हो। अनिल राष्ट्रिय टोलीका पूर्वकप्तान हुन्।

विजय र उत्तम पनि राष्ट्रिय टोली र लिगमा लामो अनुभव बटुलेका खेलाडी हुन्। त्यसैले युवा जोश र अनुभवी खेलाडीको समिश्रणबाट यसपटक राम्रो नतिजा ल्याउने क्लबको अपेक्षा छ।

“हाम्रो टीममा १८ वर्षमुनिका खेलाडीहरूको वर्चश्व छ। अहिले हामीले अनिल, विजय, उत्तमजस्ता अनुभवी खेलाडीलाई टोलीमा समावेश गरेका छौँ,” क्लबका व्यवस्थापक अरविन गुरुङले भने, “गत वर्ष टोलीमा अनुभवको कमी देखियो। त्यसलाई हटाउन हामीले अनुभवी खेलाडी थपेका होँ। आशा छ हामी राम्रो नतिजा निकाल्छौँ।”

मछिन्द्रको कप्तानी विराज महर्जनले गर्नेछन् भने ब्रिगेड ब्वाइजको कप्तानी अनिल गुरुङले गर्नेछन्।

दुवै राष्ट्रिय टोलीका पूर्वकप्तान हुन्। त्यसैले यो खेल स्टार खेलाडीको नेतृत्व गर्ने विराजविरुद्ध युवा खेलाडीको नेतृत्व गर्ने अनिलबीचको प्रतिस्पर्धाभन्दा फरक पर्दैन।

प्रतिक्रिया दिनुहोस्