जापानमा हुने कोपा टोरे कपमा यू–१२ टाेलीले सहभागिता जनाउने

काठमाडाै‌। जापानमा हुने अन्तर्राष्ट्रिय कोपा टोरे कप फुटबल प्रतियोगितामा अब एन्फाको यू–१२ टीमले सहभागिता जनाउने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल युथ सकर प्रोजेक्ट (एनपिओ) बीच आज सम्झाैता भएसँगै कोपा टोरे कपमा एन्फाको यु–१२ टोलीले प्रतिस्पर्धा गर्ने भएको हो।

सम्झाैता पत्रमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र एनपीओका अध्यक्ष वसन्त गौचनले हस्ताक्षर गरेका थिए। वसन्त फन रुट्स एकेडेमीमा प्रशिक्षक पनि हुन्।

टोकियोमा हुने प्रतियोगिता आगामी मार्च अन्तिम साता हुनेछ। प्रतियोगितामा स्पेन, फ्रान्स, अष्ट्रेलिया, जर्मनी, मलेसिया, चीन, कोरियालगायतका टीम र जापानको जे लिग क्लबका युथ टीमको सहभागिता रहनेछ।

उक्त प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको छनोट अब एन्फाले गर्नेछ। यसअघि एनपीओले पोखरा, बुटवल, काठमाडौं र म्याग्दी जिल्लाबाट खेलाडी छनोट गर्दै आएको थियो।

एन्फा अध्यक्ष शेर्पाले यस कार्यक्रमले नेपालको ग्रासरुट फुलबल विकासमा सहयोग पुग्ने बताए। उनले जिल्ला, प्रदेश हुँदै काठमाडौंबाट छानिएका १२ खेलाडीलाई जापान पठाउने बताए। "सानै उमेरमा अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव लिन पाउने भएकाले ग्रासरुट फुटबलको महत्त्व अझ बढनेछ," एन्फा अध्यक्ष शेर्पाले भने।

प्रतियोगिताका लागि जापानमा रहँदाको सम्पूर्ण खर्च भने एनपीओ र फन रुट्स एकेडेमीले बेहाेर्नेछ।

वसन्तले यस प्रतियोगिता मात्र नभएर नेपाली फुटबललाई दीर्घकालीन सहयोग पुर्‍याउन सहयोग गर्ने बताए। वसन्त नेपाली राष्ट्रिय टीमका पूर्वस्ट्राइकरसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्