बूढानीलकण्ठ धर्मशालाको पुनर्निर्माण सुरू

काठमाडौं। काठमाडौंको बूढानीलकण्ठ मन्दिरस्थित धर्मशालाको पुनर्निर्माण कार्य सुरू गरिएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र काठमाडौंस्थित भारतीय दूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पाले आज धर्मशालाको संयुक्तरूपमा शिलान्यास गरेका हुन्।

यस धर्मशालाको पुनर्निर्माण भारत सरकारको आर्थिक सहयोगमा सुरू गरिएको हो। भारत सरकारको पाँच अर्ब ८० करोड रूपैयाँ आर्थिक सहयोगमा सञ्चालित २८ वटा सांस्कृतिक सम्पदा संरक्षण तथा पुनस्र्थापना परियोजनामध्ये यो तेस्रो परियोजना हो।

सबै २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रको पहिचान नेपाल सरकारले गरेको हो भने यसका लागि अगस्ट २०१७ मा भारत सरकार र नेपाल सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय कार्यान्वयन एकाइ (भवन) यी परियोजनाहरूको कार्यान्वयन गर्ने निकायको रूपमा रहेको छ। यस धर्मशालाको निर्माणले मन्दिरमा आउने तीर्थयात्री तथा पर्यटकको भ्रमणलाई सहज बनाउने अपेक्षा गरिएको छ।

भारतले विगतदेखि नै सांस्कृतिक सम्पदा संरक्षण एवम् पुनस्र्थापनाका लागि नेपालसँग मिलेर काम गर्दै आएको छ। यसअघि नोभेम्बर २०१९ मा कूल दुई करोड २० लाख रूपैयाँ लागतमा बूढानीलकण्ठ मन्दिरका लागि मठाधिस भवनको निर्माण गरिएको थियो।

“सांस्कृतिक सम्पदाको संरक्षण एवं पुनस्र्थापनाका लागि नेपाल सरकारसँग हातेमालो गर्न भारत सरकार प्रतिबद्ध छ,” काठमाडौंस्थित भारतीय दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्