राजपाले तदर्थ समितिको म्याद थप्यो
काठमाडाैं। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीको एकता महाधिवेशन नहुन्जेलका लागि बनाइएका विभिन्न तदर्थ समितिको समयावधि थप गरेको छ।

राजपाको अध्यक्ष मण्डलको आज पार्टी कार्यालय बबरमहलमा बसेको बैठकले वडा तदर्थ समिति, पालिका तदर्थ समिति, क्षेत्रीय तदर्थ समिति र जिल्ला तदर्थ समिति गठन गर्न आगामी १५ पुससम्मका लागि म्याद थप गर्ने निर्णय गरेको छ।

राजपाले यसअघि यही १५ मंसीरसम्मको म्याद दिएकामा सबै जिल्लामा अझै कार्य सम्पन्न नभएकाले उक्त कार्यको लागि समयावधि थपेको जनाएकाे छ।

साथै यही ३० मंसीरमा बोलाइएको केन्द्रीय पर्यवेक्षकको बैठक हाललाई स्थगित गर्ने निर्णयसमेत गरिएको राजपाले विज्ञप्तिमार्फत् जनाएको छ।

राजपाले तदर्थ समितिलाई जिल्ला अधिवेशनकै रूपमा लिएको छ। पार्टीको एकता महाधिवेशनको मिति भने अझै निश्चित भएको छैन। राजपाले छिट्टै महाधिवेशनको मिति घोषणा गर्ने जनाएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्