४ पुसभित्र सभामुखको टुंगो लाग्छः नेकपा नेता पौडेल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले ४ पुसभित्र सभामुखको नाम टुंगो लाग्ने बताएका छन् ।

सभामुख चयनका विषयमा नेकपा निर्णय गर्ने अवस्थामा पुगेको उनले बताए । पौडेलले देखापढीसँग भने, “पार्टीले यसबारे छिटै निर्णय गर्छ, ४ पुसभित्र तपाईंहरूले सभामुखको नाम पाउनु हुन्छ ।”

करीब एक वर्षपछि पहिलोपटक बसेको नेकपाको स्थायी समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गरेका छन्। प्रतिवेदनमा सरकारको कामको समीक्षादेखि केन्द्रीय कमिटीको बैठक बोलाउने र सीमा विवादको समाधान सुझाउने विषयसमेत समेटिएका छन्।

पौडेलले स्थायी समिति सदस्यहरूले अध्यक्ष दाहाललाई एक वर्षसम्म बैठक नबस्नुको कारणबारे प्रश्न गरेको समेत बताए । उनले भने, “अध्यक्षद्वयको कार्यविभाजन भएकाले अब सक्रियता बढ्नेछ, पार्टीका तल्लो तहदेखि माथिल्लो तहसम्म सघन छलफल हुनेछन्।”

उनले प्रतिपक्ष सुस्त रहेको अवस्थामा सरकार सक्रिय भएर काममा केन्द्रित हुनुको विकल्प नरहेको समेत बताए।

प्रतिक्रिया दिनुहोस्