सिन्धुपाल्चोक दुर्घटनामा राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकमा आज भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन्।

उनले ट्वीट गर्दै दुर्घटनामा ठूलो मानवीय क्षति भएको खबरले स्तब्ध भएको बताइन्। साथै राष्ट्रपति भण्डारीले शोकाकुल परिवारमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेकी छन्।

ट्वीटमा भनेकी छन्, ‘हालैका दिनमा निरन्तर भइरहेको सवारी दुर्घटनालाई रोक्नका लागि आवश्यक कदम चाल्न सम्बन्धित सबैलाई हार्दिक आह्वान गर्दछु।’

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित ६ किलो भन्ने स्थानमा आज बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ।

दोलखाको कालिन्चोक भगवती मन्दिरको दर्शन गरेर भक्तपुर फर्कँदै गरेको बस लामोसाँघु–जिरी सडक खण्डमा दुर्घटना भएको सिन्धुपाल्चाेक प्रहरीले जनाएको छ।

बा४ख ४४६८ नम्बरको रिजर्भ बस सडकबाट करीब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा ९ महिला, तीन पुरुष, एक बालिका र दुई बालकसहित १५ जनाको मृत्यु भएको प्रहरीकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस्