सिरहा मालपोतका अधिकृतविरुद्ध पाँच लाख बिगोसहित मुद्दा दायर

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका मालपोत अधिकृत रामबाबु मण्डल उपर पाँच लाख बिगोसहित आरोपपत्र दायर गरिएको छ।

मण्डलले उच्च अदालत जनकपुर, राजविराज इजलासको पुनरावेदनमा विचाराधिन रहेको मुद्दाको सिलसिलामा सेवाग्राहीको नाममा कायम हुन आएको खुल्ने निर्णयसहितको माग भएको कागजातहरू उपलब्ध गराउन आनाकानी गरेका थिए।

उनले कागजात उपलब्ध गराउनकै लागि सेवाग्राहीसँग घुस रकम माग गरेको सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले पाँच लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्