हवाई सेवामार्फत जोडिँदै पूर्वका धार्मिक र पर्यटकीय क्षेत्र

ताप्लेजुङ। पूर्वमा निजी हवाई सेवा कम्पनीले प्याकेज नै बनाएर हवाई सेवा शुरू गरेका छन्।

योसँगै यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रहरू हवाई सेवामार्फत जोडिएका छन्।

सीता एयर र माउण्टेन एयरको सहकार्यमा झापाको भद्रपुर र विराटनगरबाट ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, खोटाङको हलेसी, लुक्लालगायतका ठाउँमा हवाई सेवा शुरू गरेका हुन्।

सीता एयरले २९ मंसीरदेखि भद्रपुर–ताप्लेजुङ दैनिक सिधा उडान सञ्‍चालन गरेको छ।

लामीडाँडा, लुक्लामा समेत उडान भइरहेको माउण्टेन हेलिकप्टर प्रालिका महाप्रबन्धक दिलबहादुर वलीले बताए।

उनले पाथीभरा र हलेसी दर्शनको प्याकेज बनाइएको जानकारी दिए।

भद्रपुर र विराटनगरबाट २३ हजारमा पाथीभरा आवतजावत गर्न सकिन्छ।

भद्रपुर र विराटनगर दुवै ठाउँबाट सीता एयरले सुकेटार विमानस्थलसम्म दैनिक उडान भर्नेछ भने सुकेटारबाट माउण्टेन एयरको हेलिकप्टरले दर्शनार्थीलाई मन्दिरसम्म लगेर पुनः सुकेटारमा ल्याउने छ।

पाथीभराको दर्शनपछि सुकेटारबाट यात्रुले लुक्लासमेत जान पाउनेछन्।

हवाई सेवा शुरू भएपछि लुक्लाबाट समेत पाथीभरामा दर्शनार्थी आउन थालेका छन्।

यस्तै हलेसी दर्शनको लागि २३ हजारको प्याकेज बनाएर उडान शुरू गरिएको छ।

माउण्टेन हेलिकप्टरले धरानको भेडेटारबाट पाथीभरा उडान शुरू गरेको छ ।

भेडेटारदेखि पाथीभरासम्मको दुईतर्फी भाडा ३० हजार रूपैयाँ निर्धारण गरिएको छ।

सीता एयरको विमान बिहान भद्रपुरबाट सुकेटार र सुकेटारपछि लुक्ला हुँदै काठमाडौं जानेछ । पुनः काठमाडौंबाट लुक्ला हुँदै सुकेटार आई भद्रपुर वा विराटनगर फर्कनेछ।

पूर्वका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धनको लागि शुरू गरिएको हवाई सेवाले 'नेपाल भ्रमण वर्ष २०२०' सफल बनाउन सहयोग पुग्ने पर्यटन क्षेत्रसँग सम्वद्ध संस्थाहरूले जनाएका छन्।

पूर्वका सबै विमानस्थलमा हवाई सेवा नियमित भए भारतको सिक्किम, दार्जिलिङलगायतका पर्यटकलाई समेत आउन जान सहज हुनेछ। रासस

प्रतिक्रिया दिनुहोस्