१९ जनाको ज्यान गएको नरपानी बस दुर्घटनाको प्रमुख कारण तीव्र गति: छानबिन समिति

अर्घाखाँची। १९ जनाको मृत्यु हुने गरी अर्घाखाँचीको नरपानीमा भएको बस दुर्घटनाको प्रमुख कारण तीव्र गति भएको छानबिन समितिले निष्कर्ष निकालेको छ।

११ मंसीरमा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देही जाँदै गरेको लु. २ ख २१४८ नम्बरको यात्रुवाहक बस सन्धिखर्क नगरपालिका–६ मा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो।

दुर्घटनापश्चात जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीमा भएको सर्वपक्षीय बैठकबाट सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरिएको थियो।

छानबिन समितिले जिल्ला ट्राफिक प्रहरी कार्यालय, अर्घाखाँचीले तयार पारेको घटनास्थलको स्केच, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले तयार पारेको घटनास्थल प्रकृति मुचुल्का, गाडीको मेकानिकल जाँचको प्रतिवेदन, चालकले चिया नास्ता खाएको होटल साहुको भनाइ, घुम्तीका सर्वसाधारण र पसलेसँगको कुराकानीको संकलन गरेको थियो।

घटनामा तत्काल उद्धारमा खटिएका प्रहरी चौकी नरपानीका चौकी इन्चार्जको बयान, उद्धारकर्ताको घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा गरेको कागज, घटनास्थलको प्रकृति मुचुल्का, रेखाचित्रण र फोटोग्राफी तथा घाइतेको बयान कागजले समेत तीव्रगतिका कारण बस दुर्घटना भएको छानबिन समितिको निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस्