बलात्कारको गलत प्रतिवेदन दिने दुई चिकित्सक दोषी ठहर, ६ महीना कैद

काठमाडौं। जनकपुर अञ्चल अस्पतालका दुईजना चिकित्सकलाई विशेष अदालत काठमाडौंले दोषी ठहर गरेको छ। बलात्कारको गलत प्रतिवेदन दिने डा. विजयकुमार सिंह र डा. रम्भा गोइतलाई अदालतले दोषी ठहर गरेको हो।

अदालतका न्यायाधीशहरू कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारूको इजलासले दोषी ठहर गरेको विशेष अदालतका उपसचिव एवं प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए। अदालतले उनीहरूलाई ६ महीना कैद र २५ हजार रुपैयाँ जरिवाना गर्ने फैसलासमेत गरेको उनले जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। धनुषाको जनकनन्दनी गाउँपालिका–२ घर भएकी एक १२ वर्षीया बालिका बलात्कृत नभएको प्रतिवेदन ती चिकित्सकहरूले दिएका थिए।

८ भदौ २०७५ मा बलात्कृत भएकी ती बालिकाको स्वास्थ्य जाँचका लागि जनकपुर अस्पताल लगिएको थियो। तर, उनीहरूले बालिका बलात्कार नभएको भन्ने निष्कर्ष निकालेका थिए। बलात्कार नभएको प्रतिवेदन दिएपछि प्रहरीले पुनः सिरहा अस्पतालमा लगेर बालिकाको स्वास्थ्य परीक्षण गरेको थियो। त्यहाँका चिकित्सक डा.राकेशकुमार सिंहले बलात्कार भएको भन्ने प्रतिवेदन दिएपछि घटना बाहिर आएको थियो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अख्तियार दुरूपयोग गरेको भन्दै गलत रिपोर्ट दिने चिकित्सकहरूविरुद्ध मुद्दा दायर गरेको थियो। नेपाल मेडिकल काउन्सिलले पनि उनीहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको थियो।

प्रतिक्रिया दिनुहोस्