देश निकाला गरिएका ५ जना नेपालीलाई फर्काउन अमेरिकाद्वारा विमान चार्टर
काठमाडौं। अवैध रूपमा प्रवेश गरेका पाँच नेपालीलाई अमेरिकाले विमान चार्टर गरेर काठमाडौं ल्याइदिएको छ।
अवैध रूपमा अमेरिका प्रवेश गरेका चार र ओभरस्टे बसेका एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ पुसमा ल्याएर नेपाल प्रहरीको जिम्मा लगाएको छ।
काठमाडौं आइपुगेकामध्ये चार जना विभिन्न देश हुँदै मेक्सिको पुगेर अवैध रूपमा अमेरिका छिरेका थिए। एक जना विद्यार्थी भने ओभरस्टेका कारण डिपोर्ट (देशनिकाला) मा परेका हुन्।
प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले लिएको प्रारम्भिक बयानअनुसार चार जनाले करीब साढे दुई करोड रूपैयाँ गुमाएका छन्।
अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम फोर्स’ को सैनिक अधिकारीसहित करीब १७ जनालाई लिएर अमेरिकाबाट उडेको विमान ५२ घण्टापछि २ पुसमा नेपाल उत्रिएको आजको कान्तिपुर दैनिकमा समाचार छ।
विमानमा अमेरिकाबाट डिपोर्ट गरिएका दुई पाकिस्तानी नागरिकसमेत थिए।
विमानस्थल ओर्लिएर नेपाल प्रहरीको जिम्मा लगाएपछि मात्रै डिपोर्ट भएका सबैका हात, खुट्टा र कम्मरमा लगाइएको हत्कडी खोलिएको थियो।
डिपोर्ट भएका एक जनाले विमान यात्राभर आफूहरूलाई कडा सुरक्षामा राखिएको र खाना खाने बेला र शौचालय जाँदासमेत हत्कडी नखोलिएको बताए।
जेठ २०७४ मा पनि डिपोर्ट गरिएका सात नेपालीलाई अमेरिकी सरकारले चार्टर विमानमा ल्याएको थियो।
पछिल्ला २० महीनामा अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संखया ९७ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्