कुटपिटको विरोधमा कर्मचारी आन्दोलित, वडाध्यक्ष पक्राउ

रूकुम। रूकुम पश्चिमको आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि कुटपिट भएपछि त्यहाँका कर्मचारी आन्दोनमा उत्रिएका छन्।

कार्यालयको काम सकेर फर्कंदै गर्दा केसी र चन्दमाथि २ पुस, साँझ कुटपिट भएको थियो ।

आठविसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विकको योजनामा उनका भाइ गोपाल विक र हरिश विकले धारिलो हतियारबाट ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको दाबी गर्दै आन्दोलनमा उत्रिएका कर्मचारीले उनीहरुमाथि कडा कारवाहीको माग गरेका छन्।

“कानुनको शासनलाई चुनौती दिँदै दिनदहाडै सुनियोजित रुपमा गरेको आक्रमणको सिङ्गो नगरपालिका कर्मचारी परिवार निन्दा र घोर भत्सर्ना गर्दछ”, कर्मचारीहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

आक्रमणमा संलग्न दोषीलाई कानून बमोजिम हदैसम्मको कारबाहीको माग गर्दै कर्मचारीलाई सुरक्षाको प्रत्याभूति गर्न तथा कानूनी राज्यको स्थापना गरी दण्डहिनताको अन्त्य गर्न समेत उनीहरुले माग गरेका छन्।

कानून बमोजिम कारबाही नभएसम्म सम्पूर्ण कामकाज ठप्प पार्ने उनीहरुले जनाएका छन्। डेढ वर्ष अघिसमेत एकजना इन्जिनियरलाई त्यहाँकै एक जनप्रतिनिधिले कुटपिट गरेका थिए।

कुटपिटमा संलग्नको आरोपमा प्रहरीले आठबीसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विकलाई भने नियन्त्रणमा लिइसकेको छ।

केशरमानकै योजनामा आक्रमण भएको भन्दै कुटिएका कर्मचारीले जिल्ला प्रहरी कार्यालय, रूकुम पश्चिममा किटानी जाहेरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्