दोस्रो टेस्टमा पाकिस्तानको खराब शुरूआत
काठमाडौं। श्रीलंकाका लहिरु कुमारा र लासिथ इमबुलदेनियाले आपसमा आठ विकेट बाँडेपछि कराँचीमा आज शुरू दोस्रो टेस्टमा पाकिस्तानले राम्रो शुरूआत गर्न सकेन।

टस जितेर ब्याटिङ थालेको घरेलु टोली पाकिस्तानले पहिलो दिनमै १९१ रन बनाउँदा सबै विकेट गुमायो।

कुमारा र इमबुलदेनियाले समान चार विकेट तथा विश्व फर्नान्डोले दुई विकेट लिएपछि पाकिस्तानका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। घरेलु टोलीका बाबर अजमले ६०, असद सफिकले ६३ र ओपनर अबिद अलीले ३८ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन्।

कुमाराले चार विकेट लिने क्रममा ४९ रन खर्चिए भने इमबुलदेनियाले ७१ रन दिए। फर्नान्डोले ३१ रन खर्चिए। पहिलो दिन सकिँदा श्रीलंकाले पनि तीन विकेट गुमाइसकेको छ। श्रीलंका ६४–३ को स्थितिमा छ। श्रीलंकाका ओशादा फर्नान्डो चार, दिमुथ करुणारत्ने २५ र कुशल मेन्डिस १३ रन बनाएर आउट भए। एन्जेलो म्याथ्युज आठ र इमबुलदेनिया तीन रन बनाएर क्रिजमा छन्।

रावलपिन्डीमा सम्पन्न पाकिस्तान र श्रीलंकाबीचको पहिलो टेस्ट वर्षाले प्रभावित बनेपछि बराबरीमा सकिएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्