संसदको हिउँदे अधिवेशन आजदेखि

काठमाडौं । संसदको पाँचौं अधिवेशनको पहिलो बैठक आज बस्दैछ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा प्रतिनिधि सभा र राष्‍ट्रिय सभा दुवै सदनको बैठक अपरान्ह ४ बजे तय गरिएको संसद सचिवालयले जनाएको छ।

प्रतिनिसभाको हिउँदे अधिवेशनअन्तर्गत पहिलो बैठकको अध्यक्षता उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले गर्ने भएकी छन्।

नेपालको संविधानको धारा ९१ को उपधारा ४ मा सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने व्यवस्था छ।

तर, सभामुख नभएको अवस्थामा उपसभामुखले सञ्चालन गर्नेबारे संसद नियमावलीले बोलेको छैन।

तुम्बाहाङफेले संविधानको त्यही प्रावधानलाई टेकेर केही संसदको अध्यक्षता आफूले गर्न पाउनुपर्ने बताउँदै आएकी छन्।

संसद बैठकको शुरुवात गरेरमात्र राजीनामा दिने आफ्नो अडानमा नेकपा नेतृत्वमा सहमति जुटेपछि ४ पुसको बैठकको अध्यक्षता गर्ने तयारीस्वरुप उपसभामुख तुम्बाहाङफेले गृहकार्य थालेको संसद सचिवालयले जनाएको छ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको अभियोगमा जेल चलान भएपछि प्रतिनिधिसभा सभामुखविहीन छ।

सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन प्रक्रियाबारे राय लिन उपसभामुखले पछिल्ला दिनमा राजनीतिक दलको नेतृत्वसँग भेटघाट र परामर्शलाई तीब्र पारेकी थिइन्।

बैठकको कार्यसूची तय गर्न उपसभामुख तुम्बाहाङफेले ४ बजेको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेकी छन्।

दुवै सदनको बैठकको शुरुमा राष्ट्रपति भण्डारीबाट संसद् आह्वानसम्बन्धी पत्र पढेर सुनाइनेछ।

प्रतिक्रिया दिनुहोस्