यस्तो छ हिउँदे अधिवेशनको पहिलो बैठकको कार्यसूची

काठमाडौं। संसदको तल्लो सदन प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्तर्गत आज हुने पहिलो बैठकको सम्भावित कार्यसूची तय भएको छ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा प्रतिनिधि सभा र राष्‍ट्रिय सभा दुवै सदनको बैठक अपरान्ह ४ बजे बस्दैछ।

प्रतिनिसभाको पाँचौ अधिवेशनअन्तर्गत पहिलो बैठकको अध्यक्षता उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले गर्ने छिन्।

आजको बैठकको सम्भावित कार्यसूचीमा उपसभामुख तुम्बाहाङफेले राष्ट्रपति भण्डारीबाट प्रतिनिधि सभाको पाँचौं अधिवेशन आव्हानसम्बन्धी प्राप्त पत्र वाचन गरेर सुनाउनेछिन्।

त्यस्तै मन्त्रिपरिषदको पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको जानकारी गराइनेछ।

केही समयअघि सरकारले मन्त्रिपरिषद पुर्नगठन गरेको थियो।

संसद बैठक नबसेको समयमा भएको चार जना पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव पारितसम्बन्धी आजको बैठकको अर्को कार्यसूची छ।

पहिलो बैठकको सम्भावित कार्यसूचीमा आगामी बैठकको मिति तय गरिने छ।

कार्यसूचीलाई अन्तिम रुप दिन बानेश्वरस्थित संसद भवनमा दिउँसो २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ।

परामर्श समितिको बैठकले केही हेरफेर नगरे आजको बैठकको ४ वटा कार्यसूची रहेको संसद सचिवालयका सञ्चार विज्ञ शेखर अधिकारीले बताए।

तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको अभियोगमा जेल चलान भएपछि प्रतिनिधिसभा सभामुखविहीन छ।

यसैबीच आजै २ बजे सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक संसद भवनमा बस्दैछ।

बैठकमा आजबाट शुरु हुने संसद अधिवेशनको सन्दर्भमा पार्टी नेतृत्वले सांसदहरुलाई ब्रिफिङ गर्ने छन्।

नेकपाले २९ मंसीरदेखि जारी स्थायी कमिटी बैठक आज एक दिनको लागि स्थगीत गरेको छ।

संसद अधिवेशनमा पार्टीको तयारीबारे छलफल गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको संसदीय दलको बैठक ३ पुसमा बसेको थियो।

प्रतिक्रिया दिनुहोस्