अन्तर्राष्ट्रिय खेलाडी कसलाई मान्ने?, जुटेन सहमति

काठमाडौं। प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘अन्तर्राष्ट्रिय खेलाडी कसलाई मान्ने’ भन्नेमा सहमति जुट्न सकेको छैन।

‘खेलकुद विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको आजको दफावार छलफलमा समितिका सदस्यका बीचमा सहमति जुट्न नसकेको हो।

समितिको बैठकमा गएको १ पुसदेखि छलफल हुँदै आएको छ। समितिका सदस्यले अन्तर्राष्ट्रिय खेलमा सहभागी हुने सबै खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडी मान्नुपर्ने धारणा राखेका थिए।

तर, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय खेलमा पदक जितेकालाई मात्र अन्तर्राष्ट्रिय खेलाडी मान्नुपर्ने बताए।

बैठकमा सहमति जुट्न नसकेपछि मन्त्रालयले यो विषयमा पुनःलेखन गरेर ल्याउने जनाएको छ।

“अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडी मान्ने हो भने अहिले साग प्रतियोगितामा सहभागी ६०० खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडी मान्नुपर्दछ”, मन्त्री विश्वाकर्मा भने, “ओलम्पिकको छाताभित्र रहेका धेरै खेलका संघ र महासंघ छन्। तिनले आयोजना गर्ने खेलमा सहभागी खेलाडीलाई पनि अन्तर्राष्ट्रिय खेलाडी मान्ने हो भने कहीँकतै अन्तर्राष्ट्रिय खेलाडीको परिभाषाले अर्कै अर्थ लाग्न सक्छ।”

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका समितिका सदस्य जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी सबै खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडी मान्नुपर्ने बताए।

“अहिले हामीले खेलाडीलाई खासै केही गर्न सकेका छैनौँ”, उनले भने, “त्यसैले खेलाडीको मनोबल उच्च राख्न र सम्मानका लागि खेलमा सहभागी सबै खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडी मान्नुपर्दछ।”

समिति सदस्य गगन थापाले कुन–कुन क्षेत्रमा सहभागी खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडी मान्ने मापदण्ड बनाउनुपर्ने बताए। –रासस

प्रतिक्रिया दिनुहोस्