ब्रीगेड ब्वाइजद्वारा फ्रेण्ड्स क्लब २-० ले पराजित

काठमाडाैं। खेल सकिन ३ मिनेट बाँकी छँदा गरेको गोलमा ब्रीगेड ब्वाइजले आज शहीद स्मारक 'ए' डिभिजन लिगमा फ्रेण्ड्स क्लबलाई २-० ले पराजित गरेको छ।

८२औं मिनेटमा जय गुरूङले गरेको गोलमा अग्रता लिएको ब्रीगेडका लागि दोस्रो गोल रोशन रानामगरले गरेका थिए।

रोशनलाई सुबित गुरूङले प्रतिस्थापन गर्न लागेका थिए। सुबित मैदान छिर्न तयार भएर बसेका थिए। त्यसैबेला रोशनले गोल गरेका थिए। गोल गर्ने बित्तिकै रोशनले मैदान छाडेका थिए। जितसँगै ब्रीगेड ब्वाइजले तीन अंक जोड्न सफल भएको छ।

पहिलो खेलमा ब्रीगेड ब्वाइज मछिन्द्रसँग २-० ले पराजित भएको थियो भने फ्रेण्ड्स त्रिभुवन आर्मी क्लबसँग २-१ ले पराजित भएको थियो।

१८औं मिनेटमा ब्रीगेड ब्वाइज अग्रता लिनबाट चुक्यो। विजय गुरूङले दायाँ कर्नर नजिकबाट हानेको फ्रीकीक फ्रेण्ड्सका गोलकिपर देब लिम्बूले 'पन्च' गरेर बाहिर फालिदिएका थिए।

३८औं मिनेटमा रोशन रानामगरले पेनाल्टी क्षेत्रबाट सेकेन्ड बार च्यापेर हानेको प्रहार थोरैले बाहिरिएपछि ब्रीगेड ब्वाइज अग्रता लिनबाट चुक्यो।

७८औं मिनेटमा पृथ्वी चौधरीले १८ यार्डबाट बायाँ खुट्टाले हानेको प्रहार फ्रेन्ड्सका गोलकिपरले मुस्किलले बचाएका थिए।

८१औं मिनेटमा वाग्लर डी कार्मो खाली पोष्टमा गोल गर्न चुके। फिलिप डी सुजाको पासमा उनले पेनाल्टी क्षेत्रबाट हानेको प्रहार आकाशिएको थियो।

फ्रेण्ड्सले ब्राजिलियन खेलाडी फिलिप डी साउजा, साउलो डी एक्विनो, वाग्लर डि कार्मोलाई खेलाएको थियो भने ब्रीगेड ब्वाइजले टाजुदीन बुसारीलाई खेलाएको थियो।

प्रतिक्रिया दिनुहोस्