नारायणगोपाल युवा संगीत पुरस्कार अविरल र मीनालाई
<p>काठमाडाैं। यस वर्षको नारायणगोपाल युवा संगीत पुरस्कार आशिष अविरल र मीना निरौलालाई प्रदान गरिएको छ। राष्ट्रिय युवा परिषद्ले आज आयोजना गरेको कार्यक्रममा उनीहरूलाई नेपाली संगीतका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै जनही २५ हजार रूपैयाँ र स्वर्ण पदकसहित पुरस्कृत गरिएको हो। </p>
<p>२०४२ मा स्थापित सो संस्थाले २०४८ सालमा नारायणगोपाल गुरुवाचार्यकाे स्मृतिमा सो कोष स्थापना गरेको हो। युवा गायक तथा संगीतकार अविरलले ‘सालको पात...’, ‘लालुमाई...’ तथा निरौलाले ‘काले दाइ काले दाइ...’, ‘ठमेल बजार...’ जस्ता गीत गाएका छन्। यो पुरस्कार हालसम्म ४६ जनालाई प्रदान गरिसकिएको छ।</p>
<p>यस्तै यस वर्षको चित्रकार अरनिको युवा कला पुरस्कार विजय महर्जन र सविता डङ्गोललाई प्रदान गरिएको छ। चित्र र मूर्तिकलाका फाँटमा सक्रिय रही निरन्तररूपमा योगदान दिएको भन्दै युवाकलाकारद्वय महर्जन र डङ्गोललाई जनही २५ हजार रूपैयाँ र स्वर्ण पदकसहित सो पुरस्कार दिइएको हो। कोषले सो पुरस्कारको स्थापना २०५७ मा स्थापना गरेको हो। स्थापनाकाललेखि सो संस्थाले हालसम्म ३० जनालाई पुरस्कार प्रदान गरिसकेको छ।</p>
<p>सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले युवाको सम्मानका लागि समग्र देश नै अग्रसर हुनुपर्ने बताए। युवाको परिचालन र सम्मान नभएसम्म देश विकास हुन नसक्ने भन्दै उनीहरूको प्रतिभाको कदर गर्नुपर्नेमा उनले जाेड दिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्