आर्सनलको मुख्य प्रशिक्षकमा आर्टेटा

काठमाडाैं। इङ्लिस प्रिमियर लिगको क्लब आर्सनलले आज पूर्वमिडफिल्डर मिकेल आर्टेटालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

आर्सनलबाट पाँच वर्षको करिअरमा दुईपटक एफए कपको उपाधि जितेका ३७ वर्षे आर्टेटाले युनाई इमिरेको स्थान लिएका हुन्। इमिरेलाई आर्सनलले गत नोभेम्बरमा बर्खास्त गरेको थियो।

आर्सनलको मुख्य प्रशिक्षकमा नियुक्त हुनुअघि आर्टेटाले म्यानचेस्टर सिटीमा सहायक प्रशिक्षकका रूपमा पेप ग्वार्डिओलालाई सघाएका थिए। खेलाडी जीवनबाट सन्यास लिएपछि आर्टेटाले २०१६ मा सिटीसँग अनुबन्ध भएका थिए। आर्टेटाले २०११ देखि २०१६ सम्म आर्सनलबाट खेलेका थिए। उनले आर्सनलबाट आर्म ब्यान्ड पनि बाँधेका थिए।

जारी सिजन २२ अंक जोडेको आर्सनल १०औंं स्थानमा छ। साढे तीन वर्षका लागि सम्झौता गरेका आर्टेटाले २२ डिसेम्बरबाट क्लबको प्रशिक्षण सम्हाल्ने आर्सनलले जनाएको छ।

‘यो ठूलो सम्मान हो। आर्सनल विश्वकै ठूलो क्लबमध्येको एक हो। हामी ठूला उपाधिका लागि प्रतिस्पर्धा गर्नु आवश्यक छ र यस विषयमा क्लबका शीर्ष व्यक्तित्वसँग मेरो कुरा भइसकेको छ”, आर्टेटालाई उद्धृत गर्दै आर्सनलको वेबसाइटमा लेखिएको छ, ‘त्यो उपलब्धि हासिल गर्नका लागि हामीले धेरै काम गर्नु पर्नेछ। त्यसमा हामी सफल हुनेमा म विश्वस्त छु। रातारात यी सब हुँदैनन् तर, अहिलेको टोलीमा धेरै प्रतिभावान खेलाडी छन्। र, एकेडेमीमा पनि धेरै राम्रा खेलाडी छन्।’

प्रतिक्रिया दिनुहोस्