श्रीमतीको हत्या गरी दसगजामा शव जलाइयो, परिवारै फरार

बारा। बाराको सीमावर्ती गाउँ पिपरपातीमा रामदयाल महतोले श्रीमती हत्या गरेपछि दसगजामा लिएर शव जलाएका छन्।

श्रीमती मालती देवी (३८)को हत्या गरेपछि रामदयालले परिवारसहित मिलेर आज बिहान नेपाल–भारत सीमा क्षेत्रको दसगजामा शव जलाएको र त्यसपछि फरार भएको प्रहरीले जनाएको छ।

बाराका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक विकासराज खनालले रामदयालको परिवार नै यसमा संलग्न रहेको हुन सक्ने र घटनापछि परिवारका सबै फरार रहेको देखापढीलाई बताए।

शव जलाएपछि उनीहरू भारततर्फ भागेको प्रहरीको अनुमान छ।

घटनाको जानकारी पाएपछि दसगजामा पुगेको बारा प्रहरीले मालती देवीको जलिसकेको शवको अवशेष नियन्त्रणमा लिएको छ।

“बिहान साढे ११ बजे महिलाको हत्या गरी शव जलाउन लागेको खबर पाएपछि हामी त्यसतर्फ गयौं,” एसपी खनालले भने, “घरमा ताला लगाएको थियो, खोज्दै जाँदा चार–पाँच सय मिटर पर धुवाँ आइरहेको देखियो। त्यहाँ शव जलिरहेको थियो, मान्छे कोही थिएनन्।”

मालतीको शवको अवशेष बाराको जिल्ला अस्पतालमा राखिएको खनालले बताए।

प्रतिक्रिया दिनुहोस्