लोकसेवा परीक्षामा चिट चोरे दुई वर्ष, प्रश्नपत्र ‘आउट' गरे तीन वर्ष प्रतिबन्ध

काठमाडौं। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले लिने परीक्षामा अनियमिता गर्नेलाई कारबाहीको व्यवस्था राख्न सहमति जुटाएको छ।

४ पुसमा बसेको समिति बैठकमा सांसदहरूले लोकसेवा आयोग विधेयकमाथि छलफल गर्दै दण्ड सजायको व्यवस्था तोक्ने विषयमा धारणा राखेका थिए।

लोकसेवा आयोगसम्बन्धी परीक्षा उल्लंघन गर्नेलाई दुई, तीन र चार वर्षसम्म आयोगको परीक्षामा सामेल हुन नपाउने व्यवस्था राख्न सहमति जुटेको आजको नयाँ पत्रिकामा समाचार छ।

परीक्षा केन्द्रमा चिट चोर्ने वा चोराउने, अर्काको नक्कल गर्ने वा गराउनेलाई दुई वर्षसम्म परीक्षामा सामेल हुन नदिने प्रावधान राखिएको छ।

विद्युतीय उपकरण प्रयोग गरी परीक्षामा अनियमित काम गर्नेहरूले पनि दुई वर्षकै सजाय भोग्नुपर्नेछ। प्रश्नपत्र ‘आउट’ गर्नेहरूले भने तीन वर्षसम्म जाँच दिन पाउनेछैनन्।

प्रश्नपत्रको प्रतिलिपि बनाई वा विद्युतीय उपकरणबाट सार्वजनिक गर्नेहरूले पनि तीन वर्षकै दण्ड भोग्नुपर्नेछ।

आयोगले तोकेको परीक्षा समयमा सम्बन्धित पदाधिकारीको स्वीकृतिविना परीक्षा हलमा प्रवेश निषेध गर्ने व्यवस्था विधेयकमा छ।

यदि जबर्जस्ती प्रवेशको प्रयत्न गरे पनि चार वर्षसम्म आयोगको कुनै पनि परीक्षामा सामेलन हुन पाइँदैन।

प्रतिक्रिया दिनुहोस्