नेपालका तिब्बती शरणार्थी अमेरिकी प्राथमिकतामा

काठमाडौं। नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत र्‍यान्डी बेरीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई २०७५ साल कात्तिकको पहिलो साता ओहोदाको प्रमाण पत्र बुझाए।

त्यहाँबाट निस्किएर बेरी शीतलनिवास नजिकैको आफ्नो दूतावासतिर छिरेनन्, उनको गाडी सरासर लाजिम्पाटतिर छड्कियो अनि गड्न खाङसेरभित्र पस्यो।

खाङसेर अर्थात् नयाँ घर। यो निर्वासित तिब्बती धार्मिक नेता दलाई लामाको नेपाल प्रतिनिधिको कार्यालय हो।

यहाँ बेरीले दलाई लामाका प्रतिनिधि छुल्ट्रिम ग्याल्सोसँग आधा घण्टा भलाकुसारी गरे।

‘यसबाट प्रस्ष्ट हुन्छ की अमेरिकी प्राथमिकतामा तिब्बती शरणार्थीहरू रहेको कुरा’, नेपाल प्रहरी विशेष ब्यूरोले १९ बैशाख २०७६ मा तयार पारेको एउटा गोप्य रिपोर्टमा लेखिएको छ।

ब्यूरोको रिपोर्टअनुसार बेरीले आफ्नो पदभार ग्रहण कार्यक्रममा दूतावासका कर्मचारीलाई सम्बोधनको भाषा झनै झस्काउने खालको थियो।

बेरीको भनाइ उद्धृत गर्दै रिपोर्टमा लेखिएको छ, ‘म अरुजस्तो सानोतिनो कुरामा अल्झिएर बस्ने होइन, यहाँको टपटपसँग सिधै डिल गरेर काम गर्ने हो।’

‘काम गर्ने’ भनेर बेरीले तिब्बत मामिलालाई इंगित गरेको ब्यूरोको रिपोर्टमा उल्लेख छ।

सन् १९५९ मा दलाई लामा तिब्बतबाट भागेर भारत पुगेपछि स्वतन्त्र तिब्बतको माग गर्दै आएका छन्।

चीनले भने तिब्बतलाई आफ्नो अभिन्न भूमि भएको दाबी गर्छ। स्वतन्त्र तिब्बत पक्षधरलाई भारत, अमेरिकालगायत पश्चिमा मुलुकको भौतिक र आर्थिक साथ भएको छर्लंग रहेको नेपाल साप्ताहिकमा समाचार छ।

यस्तो पृष्ठभूमिमा स्वतन्त्र तिब्बतका पक्षधरले नेपाललाई आफ्नो नीति लागू गराउने भूमिको रूपमा प्रयोग गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्