थ्रीस्टारद्वारा नेपाल पुलिस १–० ले पराजित

काठमाडौं। सुशील राईले खेल सकिन ६ मिनेट बाँकी रहँदा गरेको गोलमा थ्रीस्टारले आज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्‍यो।

८४औं मिनेटमा सुशान्त श्रेष्ठको सुन्दर क्रसमा पेनाल्टी क्षेत्रभित्र कसैको निगरानीमा नरहेका सुशीलले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए। थ्रीस्टारलाई जिताउन सुशीलको गोल पर्याप्त बन्यो। जारी सिजन थ्रीस्टारको यो पहिलो गोल र पहिलो जित हो।

जितसँगै थ्री स्टारले दुई खेलबाट ४ अंक जोडेको छ। थ्री स्टार यसअघि जावलाखेल युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो। नेपाल पुलिसले पहिलो खेलमा हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरी खेलेको थियो।

त्यसअघि दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको थ्री स्टारले शुरूमै पाएको राम्रो मौका गुमायो। वासियु आोलादिरान हाजमतले ४७औं मिनेटमा दायाँ खुट्टाले हानेको सशक्त प्रहारलाई नेपाल पुलिस क्लबका गोलकिपर सत्रुधनकुमार चौधरीले उत्कृष्ट बचाउ गरे। लगत्तै थ्री स्टारका मिक्चेन तामाङले हानेको प्रहार आकाशियो।

५५औं मिनेटमा रवि पासवानले पनि राम्रो मौका खेर फले। रविले ‘वान भर्सेस वान’ मा हानेको प्रहार थ्री स्टारका गोलकिपर गुलाउनी प्रिसोले पन्च गरेर बचाइदिएका थिए।

प्रतिक्रिया दिनुहोस्