रोहन र बाबरको उत्कृष्ट प्रदर्शन,चितवनले काठमाडौंलाई दियो १६८ रनको लक्ष्य

काठमाडौं। रोहन मुस्तफा र बाबर हायतको अर्धशतकमा चितवन राइनोजले आज पोखरा प्रिमियर लिगमा काठमाडौं गोल्डेन्स वारियर्सलाई १६८ रनको लक्ष्य दिएको छ।

चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६७ रन बनाएको थियो। काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए।

त्यसपछि ब्याटिङ थालेको चितवनका कप्तान पारस खड्काले आज ब्याटिङ लाइनअपमा परिवर्तन गरेका थिए। ओपनिङमा ब्याटिङ गर्न आउने पारसले आज करण केसीलाई रोहन मुस्तफासँग ब्याटिङ गर्न पठाएका थिए।

तर, करणले एक रन मात्र जोड्न सके। त्यसपछि रोहन मुस्तफाले बाबर हायतसँग दोस्रो विकेटका लागि १२० रनको साझेदारी गरे। रोहन ५९ रनमा अविजित रहे। उनले ५२ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

बाबरले ४७ बलमा ३ चौका र ६ छक्कासहित ७० रन जोडे। आरिफ शेख र सन्नी पटेलले समान १५ रन जोडे।

काठमाडौंका सुशन भारी, बसन्त रेग्मी, अमरसिंह राउटेलाले समान १/१ विकेट लिए। चितवन टाइगर्सले आजको खेल जिते फाइनलमा स्थान बनाउनेछ। पराजित भए काठमाडौंले बुटवल ब्लास्टर र विराटनगर टाइटन्सबीचको नतिजा कुर्नु पर्नेछ।

आज काठमाडौं हारेर भोलि बुटवलले विराटनगरलाई हरायो भने दुबै टोलीको समान ८ अंक हुनेछ। त्यस्तोमा रनरेटको आधरमा फाइनल पुग्नेको टुंगो लाग्नेछ।

प्रतिक्रिया दिनुहोस्