विद्युत चुहावट घटाउन सुदूरपश्चिम र नेपालगंज क्षेत्रका कार्यालयसँग प्राधिकरणको सम्झौता

कैलाली। नेपाल विद्युत प्रधिकरणले प्रदेश-५ को प्रदेश डिभिजन कार्यालय, नेपालगंज र सुदूरपश्चिम प्रदेशअन्तर्गत अहिले रहेको वितरणतर्फको विद्युत् चुहावटलाई न्यूनीकरणका लागि कार्यसम्पादन सम्झौता गरेको छ।

सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियालाई गत आर्थिक वर्ष २०७५/७६मा रहेको १३ दशमलब ६९ प्रतिशत विद्युत् चुहावटलाई १०.६९ प्रतिशतमा झार्न लक्ष्य दिइएको हो ।

कार्यालयको यस आर्थिक वर्षको कात्तिकसम्मको विद्युत् चुहावट नौ दशमलब ६२ प्रतिशत छ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा १२ वटा वितरण केन्द्रमार्फत ६५ दशमलब ६५ प्रतिशत विद्युतीकरण भएको।

यहाँ प्राधिकरणका दुई लाख ४१ हजार ग्राहक छन्।

प्राधिकरणले डिभिजन कार्यालय नेपालगंजलाई गत आवमा १० दशमलब ६४ प्रतिशत रहेको विद्युत् चुहावटलाई घटाएर यस वर्ष आठ दशमलब पाँच प्रतिशतमा झार्ने लक्ष्य दिएको छ।

यस कार्यालयअन्तर्गत ६ जिल्लाका १० वितरण केन्द्रहरुमा तीन लाख १३ हजार ग्राहक छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रदेश डिभिजन कार्यालय नेपालगंजका प्रमुख मुनिन्द्र ठाकुरले र प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख शतिस कुमार कर्णले कार्यसम्पादन सम्झौता गरेका छन्।

कार्यक्रममा प्राधिकरणका संचालक चेतराज जोशीले जीर्ण बनेका वितरणतर्फका प्रसारण तथा सबस्टेसनको निर्माण सम्पन्न गर्न, विद्युत खपत बढाउन थ्रिफेज मिटर प्रयोगलाई प्रोत्साहन गर्न र विद्युतीकरणमा केन्द्रित हुन निर्देशन दिए।

कार्यकारी निर्देशक घिसिङले प्राधिकरणलाई सार्वजनिक संस्थानमध्ये ‘उत्कृष्ठ नमुना’ संस्थाको रुपमा विकास गर्न वितरण केन्द्रहरु प्राधिकरणको अनुहार भएकाले सबै कर्मचारीले सुशासन कायम गर्दै पारदर्शी र जवाफदेही भएर काम गर्नु पर्ने बताए।

कार्यसम्पादन सम्झौतामा विद्युत् चुहावट नियन्त्रणलाई उच्च प्राथमितामा राखी यसको अंकभार ५० राखिएको छ।

कार्यसम्पादनमा राखिएका सूचकहरुको वस्तुनिष्ठ मूल्याकंन गरी शाखा प्रमुखलाई पुरस्कार र दण्ड दिने व्यवस्था गरिएको छ ।

वितरण केन्द्र प्रमुखसँगको सम्झौतामा विद्युत् चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी वक्यौता असुल गर्ने, स्तरिय, भरपर्दो तथा सुरक्षित विद्युत सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरबृद्धि गर्ने लगायतका कार्यसम्पादन सूचांक निर्धारण छन्।

प्रतिक्रिया दिनुहोस्