बतासेडाँडामा धुवाँको मुस्लो देखिएपछि मकवानपुरमा त्रास

काठमाडौं। मकवानपुरको मकवानपुरगढी गाउँपालिका–७ बतासेडाँडामा आज मध्यान्ह धुवाँको ठूलो मुस्लो देखिदाँ जिल्लाभर नै त्रास पैदा भयो।

धेरैले जहाज वा हेलिकप्टर दुर्घटना भएको हुनसक्ने आशंका गरे। तर, देखापढीले सम्पर्क गरेका विभिन्न निकायहरुले भने त्यसको पुष्टि गर्दैनन्।

मकवानपुरगढी–७ का वडाअध्यक्ष प्रतिमन रुम्बाले देखापढीसँग भने, “भीमफेदी गाउँपालिकासँग सीमा जोडिएको डाँडामा एक घण्टा अगाडि धुवाँको ठूलो मुस्लो देखिएको हो। अहिले पनि धुवाँ आइरहेकै छ।”

मकवानपुर गाउँपालिका अध्यक्ष विदुर हुमागाइँले धुवाँको मुस्लो देखिएपछि बुझ्न त्यसतर्फ प्रहरीसँगै स्थानीय पनि परिचालित भएको बताए। उनले केही दुर्घटना भएको आशंकाले जिल्लाबासी त्रसित भए पनि पुष्टि नभएको बताए।

मकवानपुर जिल्ला प्रहरी कार्यालयको सञ्चार कक्षले पनि प्रहरी परिचालन भएको जानकारी दिएको छ। सदरमुकाम हेटौडाबाट करीब १४ किलोमिटर दूरीमा रहेको उक्त स्थानतर्फ प्रहरी पठाइसकिएको सञ्चार कक्षले जानकारी दियो।

यता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कन्ट्रोल टावरले भने कुनै पनि जहाज र हेलिकप्टर सम्पर्कविहीन नरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्