नेकपा अध्यक्ष दाहालले भने- 'हामी अस्ताउँदाे सूर्य हौं, युवा उदाउँदो सूर्य हो'

चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न देशका युवा वर्ग क्रियाशील हुनुपर्ने बताएका छन्।

चितवनको रत्ननगरमा आजदेखि शुरू भएको नेपाल जेसीजको ४६औं महाधिवेशनको उद्घाटन गर्दैै अध्यक्ष दाहालले पर्यटन वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगरी सौराहाको प्रवेशद्वारमा महाधिवेशन गर्नु आफैंमा महत्त्वपूर्ण भएको उल्लेख गरे। उनले नेपाल भ्रमण वर्ष सफल बनाउन सातवटै प्रदेशबाट एकसाथ शुभारम्भ गर्ने कार्यक्रम रहेको बताए।

अध्यक्ष दाहालले देशमा ठूलो त्याग र तपस्यापछि नयाँ राजनीतिक व्यवस्था आएकाले यसलाई संस्थागत गर्न युवालाई एक भएर अघि बढ्न आग्रह गरे। समृद्ध नेपाल निर्माण गर्ने जिम्मा युवालाई भएकाले देशको आर्थिक विकासमा युवाको भूमिका अतुलनीय रहेको उनको भनाइ छ । ‘‘हामी अस्ताउँदा सूर्य हौं, तपाई युवा उदाउँदो सूर्य हो। देशको आगामी नेतृत्व गर्ने जिम्मा तपाईहरूकै काँधमा छ”, उनले भने।

नेपाल सरकारले नेपाल भम्रण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। १ जनवरीदेखि शुरू हुने भ्रमण वर्षको स्वागतका लागि तेस्रो पर्यटकीय नगरी सौराहाले तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

आजबाट शुरू भएको जेसीजको ४६औं महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ। महाधिवेशनमा नेपालभरका दुई हजार ५०० भन्दा बढीको उपस्थिति छ। रासस

प्रतिक्रिया दिनुहोस्