इन्डियन एयरलाइन्स अपहरणको २० वर्षः कसरी पुग्यो विमानसम्म हतियार?

काठमाडौं। ठीक २० वर्षअघि ९ पुस २०५६, काठमाडौंमा अन्य दिनभन्दा चिसो बढेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू तोकिएको समयमा हुन सकेका थिएनन्।

इन्डियन एयरलाइन्सको आइसी–८१४ विमानको काठमाडौं–दिल्ली उडान समय दिउँसो २ बजेको थियो। तर, ४ बजे मात्र उडान भयो।

त्यस दिन काठमाडौंको मौसम मात्र होइन विमानस्थलको सुरक्षा व्यवस्था पनि खराब थियो। विभिन्न देशका १७३ बोकेको यो विमान काठमाडौंबाट उडेको केही मिनेटमै ‘हाइज्याकर’ को कब्जामा पुग्यो।

यो घटनाले विश्वमै ठूलो हलचल मच्चायो। सरकारले विभिन्न छानबिन समिति गठन गर्‍यो। तर, २० वर्ष बित्दा पनि अपहरणकारीले कसरी विमान अपहरण गरे भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन।

घटनापछि सरकारले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हेमबहादुर सिंहको अध्यक्षतामा छानबिन समिति बनाएको थियो। समितिले त्यतिबेला विमानस्थलमा खटिएका प्रहरी कर्मचारीलगायतसँग सोधपुछ गरेको थियो।

“तर, विमानसम्म हतियार लैजान अपहरणकारी कसरी सफल भए भन्ने कुरा पत्ता लाग्न सकेन, अहिलेसम्म रहस्यमै छ”, त्यतिबेला नागरिक उड्डयन प्राधिकरणको सुरक्षा महाशाखामा कार्यरत भरत ढकालले भने।

प्राधिकरणको निर्देशक भएर ढकालले अवकाश पाइसकेका छन्।

विमान अपहरणका लागि हर्कत उल मुजाहिद्दिनले दुई महीनाअघि नै आफ्ना सदस्यलाई काठमाडौं पठाएको थियो।

तर, उनीहरूले कसरी विमानसम्म हतियार पु¥याएर अपहरण सफल बनाए भन्ने नखुलेको आजको नयाँ पत्रिकामा समाचार छ।

विमान अपहरणको असर अहिलेसम्म छ। इन्डियन एयरलाइन्सको विमान अपहरणपछि भारतले नेपालमा हुने सबै उडान रोकेको थियो।

हवाई सेवा सञ्चालनका लागि नेपाल सरकारले गरेको आग्रहमा भारतले यात्रुहरूमाथि छुट्टै सुरक्षा जाँच गर्न पाउनुपर्ने माग गर्‍यो।

त्यसलाई नेपाल सरकारले स्वीकार गरेपश्चात एयर इन्डियाको जहाज छेउमा अहिले पनि छुट्टै सुरक्षा जाँच र खानतलासी हुन्छ।

नेपालका विमानस्थलको सुरक्षा व्यवस्था अझै पनि अन्तर्राष्ट्रियस्तरको हुन सकेको छैन।

पुरानो प्रविधिका कारण अपराधी तथा आतंकवादीले नेपाललाई ट्रान्जिट बनाउने जोखिम उत्तिकै छ।

विमानस्थलमा नक्कली राहदानी पहिचान गर्ने प्रविधिसमेत छैन।

प्रतिक्रिया दिनुहोस्