राजीनामाबारे उपसभामुखले भनिन्- ‘भोलि ११ बजेसम्म कुर्नुस्’

काठमाडौं। हिउँदे अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको दोस्रो बैठक ११ पुसको एक बजे तय भएको छ।

बैठकले नयाँ सभामुखको निर्वाचन प्रक्रिया शुरू गर्दैछ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको अभियोगमा जेल चलान भएपछि प्रतिनिधिसभा सभामुखविहीन छ।

सभामुख चयनको बाटो खुलाउन निर्वाचन प्रक्रिया शुरू हुनुअघि नै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने हुन्छ।

संसद सचिवालय स्रोतका अनुसार राजीनामाका लागि अहिले उपसभामुखले नेकपा नेतृत्वसँग परामर्श गरिरहेकी छन्।

संसदको सबभन्दा ठूलो दल नेकपाबाटै तुम्बाहाङफे उपसभामुखमा निर्वाचित भएकी हुन्।

“उहाँले राजीनामा दिने मानसकिता बनाइसक्नुभएको छ, संभवतः आज अबेरसम्म राजीनामा आइसक्ने छ”, स्रोतले भन्यो।

उनी उपसभामुख पदमा रहिरहेसम्म नेकपाले सभामुख पाउँदैन।

त्यसैले सभामुख पद आफैंसँग राख्न नेकपासँग शिवमायालाई नै सभामुखको उम्मेद्वार बनाउने वा उनलाई उपसभामुखबाट राजीनामा गराउने दुई विकल्प छन्।

उपसभामुख तुम्बाहाङफेले आफू सभामुखको स्वाभाविक हकदार भएको बताउँदै आएकी थिइन्।

तर, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट ‘ग्रीन सिग्‍नल’ नपाएपछि उनले राजीनामाको मनस्थिति बनाएकी हुन्।

राजीनामाबारे देखापढीको जिज्ञासामा उपसभामुख तुम्बाहाङफेले भनिन्, “मिडियामा आइरहेकै छ नि, भोलि बिहान ११ बजेसम्म कुर्नुस्।”

अबको सभामुख कसलाई बनाउनेबारे नेकपाको आधिकारिक निर्णय सार्वजनिक भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्