'सिद्दबाबा' लाई कारबाही माग गर्दै अदालतमा महिलाको प्रदर्शन

काठमाडौं। एक अनुयायी महिलालाई जबरजस्ती करणी गरेको अभियोग लागेका सिद्दबाबा भनिने कृष्णदास गिरीलाई कारबाहीको लागि दवाब दिन सुनसरी जिल्ला अदालत परिसरमा महिलाहरुले प्रदर्शन गरेका छन्।

गिरीलाई बचाउन राज्यका उपल्लो तहका व्यक्तिहरु लागि परेको भन्दै हदैसम्मको कानूनी कारबाही हुनुपर्ने माग गर्दै इनरुवास्थित सुनसरी जिल्ला अदालतमा कालो पट्टी बाँधेर कालो ब्यानरसहित महिलाहरुले प्रदर्शन गरिरहेका छन्।

संविधानसभा सदस्य अनिता परियारको नेतृत्वमा भइरहेको प्रदर्शनमा जनप्रतिनिधि, महिला अधिकारकर्मीहरु लगायत सहभागी छन्।

मुद्दा कमजोर पार्न प्रहरी लगायत उच्च ओहोदाका व्यक्ति नै लागि परेकोले पीडितको न्यायका लागि दवाब दिइएको महिला अधिकारकर्मी योसा गुरागाईले बताइन्।

"हामीसँग सात जनाजति गिरीबाट पीडित महिला सम्पर्कमा आएका छन्, ‘बाबा’को आवरणमा धन्दा चलाउनेलाई छाडिनु भएन", गुरागाईले भनिन्।

जबरजस्ती करणी अभियोगमा सरकारी वकील कार्यालय, सुनसरीले १० पुसमा सातदेखि १० वर्षसम्म कैद सजाय र पीडित महिलालाई क्षतिपूर्ति भराउन माग दाबीसहित अदालतमा मुद्दा दायर गरिसकेको छ।

प्रहरीले हिरासतमा राखी अनुसन्धान गर्ने २५ दिन अस्पतालमा बिताएका कृष्णदासलाई बिराट नर्सिङ होमबाट अदालत पुर्‍याइएको छ।

उनलाई १६ मंसीरमा प्रहरीले पक्राउ गरेको हो।

आज अदालतले गिरीसँग बयान लिँदैछ।

बयान सकिएलगत्तै थुनछेक बहस शुरु हुने जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले देखापढीलाई बताए।

पढ्नुहोस्:

'सिद्धबाबा' विरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दायर

‘सिद्धबाबा’बाट बलात्कृत महिलाको कथा- ‘मर्न खोजें तर, सकिनँ’

प्रतिक्रिया दिनुहोस्